गुल्मी। जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ।
रेसुङ्गा नगरपालिकाको आयोजनामा निर्माण भएको यस पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङको सुविधा उपलब्ध छ। परीक्षणका क्रममा करिब ४० जनाले साहसिक खेलको अनुभव लिएका छन्।
परीक्षणमा सहभागी लक्ष्मी खनालले ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको र यसबाट मनोरम दृश्यको अनुभव प्राप्त भएको बताइन्। अर्का सहभागी प्रकाश भलामीले पूर्वाधार सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे। रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले साहसिक पर्यटनका माध्यमबाट जिल्लामा पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीका अनुसार आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिनेछ। हालका लागि नगरपालिकाले नै यसको व्यवस्थापन गर्नेछ। नगरपालिकाले जिपलाइनका लागि रु ६०० र स्काई साइक्लिङका लागि रु ४०० शुल्क निर्धारण गरेको छ।
समुद्री सतहबाट २,३०० मिटर उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ्रे र धौलागिरिलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। यहाँ यज्ञशाला, महापोखरी र विष्णुपादुकाजस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू पनि रहेका छन्। खनाल इन्फ्रा प्रालिद्वारा रु १.२५ करोडको लागतमा निर्माण सुरु गरिएको यो परियोजना विभिन्न कारणले लामो समयदेखि अलपत्र परेको थियो। निर्माण कार्य सम्पन्न भएपछि परीक्षण बाँकी रहँदा भुक्तानी रोकिएको थियो। अब यी पूर्वाधार सञ्चालनमा आएसँगै जिल्लाको पर्यटन विकासमा नयाँ टेवा पुग्ने अपेक्षा गरिएको छ।
