काठमाडौं। बाँकेका किसान धानबालीमा देखिएको अज्ञात रोगको सङ्क्रमणका कारण चिन्तित बनेका छन्। बाली भित्र्याउने समय नजिकिँदै गर्दा धानका बोट सुक्न थालेपछि किसानहरू उत्पादन घट्ने डरमा छन्।
डुडुवा गाउँपालिका-५ का किसान अम्मर बुढाथोकीका अनुसार धानका पातमा साना खैरो र हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र पछि बोट नै सुक्ने समस्या देखिएको छ। उनले भने, “धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ।” बाली सप्रिने आशामा रहेका किसानहरूले वडा कार्यालय र गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि प्रभावकारी रोकथामका प्रयास नभएको गुनासो गरेका छन्।
नेपालगञ्ज-१९ सुइयागाउँका ललवा माहुतको खेतमा पनि यस्तै समस्या देखिएको छ। यसअघि धान पाक्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले बालीमा क्षति पुर्याएको थियो, जसमा अहिले रोगको प्रकोप थपिएको छ।
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले रोगको सङ्क्रमणबारे जानकारी आए पनि क्षतिको पूर्ण विवरण यकिन हुन नसकेको बताइन्। उनले पालिकास्तरबाट सङ्क्रमणको अवस्था र क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिइन्।
सरकारी तथ्याङ्कअनुसार बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिन छ। चालु वर्षमा ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो, जुन गत वर्षको तुलनामा केही कम हो।
