काठमाडौं। विश्व इतिहासमा कृत्रिम बुद्धिमत्ता (एआई) तेस्रो ठूलो क्रान्तिको रूपमा उदाएको छ, जसले विश्वव्यापी अर्थतन्त्र र रोजगारीको संरचनामा व्यापक परिवर्तन ल्याउने निश्चित छ। नेपालका लागि यो प्रविधि अवसर र चुनौती दुवै बनेर आएको छ।
हाल नेपालको कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ, तर एआईको बढ्दो प्रभावले सेवा र क्लेरिकल क्षेत्रमा कार्यरत लाखौं नेपालीको रोजगारी जोखिममा पारेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन र म्याकिन्से ग्लोबल इन्स्टिच्युटको प्रतिवेदनअनुसार रिटेल, आतिथ्य र क्लर्क तहका धेरै काम स्वचालित हुने प्रक्रियामा छन्।
विशेषगरी खाडी मुलुक, मलेसिया र अन्य विकसित देशमा कार्यरत नेपाली कामदारहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ। यसले भविष्यमा रेमिट्यान्स आय घट्ने र ठूलो संख्यामा युवा स्वदेश फर्किनुपर्ने अवस्था आउन सक्छ, जुन राष्ट्रिय सुरक्षा र सामाजिक व्यवस्थापनका लागि चुनौती बन्न सक्छ। एआईको प्रयोग गरी नेपालले पर्यटन र कृषि क्षेत्रमा भने नयाँ क्रान्ति ल्याउन सक्ने सम्भावना छ।
एआई गाइड, ड्रोन प्रविधि र स्मार्ट कृषि प्रणालीमार्फत उत्पादकत्व वृद्धि गर्न सकिने विज्ञहरूको तर्क छ। साथै, सरकारले युनिभर्सल बेसिक इन्कम (यूबीआई) जस्ता नीतिहरू अवलम्बन गरी नागरिकको आधारभूत जीवनस्तर सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
राजनीतिक दलहरूले दलीय स्वार्थभन्दा माथि उठेर एआईबाट सिर्जित संकट सामना गर्न सर्वदलीय उच्च आयोग गठन गर्नुपर्ने र सरकारी खर्च कटौती गर्दै प्रविधिमैत्री संरचनामा जोड दिनुपर्ने सुझाव दिइएको छ।
मन्दिरको भेटीलाई सरकारी बन्डमा लगानी गर्ने, जेललाई उत्पादन गृह बनाउने र डिजिटल सेवा कर लागू गरेर राजस्वको स्रोत बढाउन सकिने प्रस्ताव गरिएको छ। समयमै ठोस नीति नबनाए एआईको प्रभावले देशको अर्थतन्त्रको जग नै कमजोर हुन सक्ने चेतावनी दिइएको छ।
