काठमाडौं। काठमाडौं महानगरपालिकाले नगर क्षेत्रमा सिटी लाइब्रेरी र सिटी म्युजियम स्थापना तथा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको छविसँग जोडिएका यी संरचनाहरू महानगर आफैँले सञ्चालन गर्ने कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
महानगरको शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार हाल यी संरचनाहरूको पूर्वाधार र व्यवस्थापकीय पक्षमा काम भइरहेको छ। सहरी योजना आयोगका सहायक विज्ञ प्रदीप बज्राचार्यले पुस्तकालयलाई केवल पुस्तक पढ्ने स्थानका रूपमा मात्र नभई ज्ञान केन्द्र, नवप्रवर्तन केन्द्र, सामुदायिक सिकाइ स्थल, सांस्कृतिक सम्पदा अभिलेखालय र डिजिटल सिकाइ केन्द्रका रूपमा विकास गरिने बताए। यसलाई अनुसन्धान र सूचना केन्द्रका रूपमा समेत प्रयोग गर्ने महानगरको योजना छ।
महानगरपालिकाले पुस्तकालयलाई वडा तहमा रिडिङ कर्नरका रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, विद्यालयमा आधारित सामुदायिक पुस्तकालय तथा अन्य संस्थागत पुस्तकालयहरूसँग जोडेर यसलाई एकीकृत सञ्जालका रूपमा सञ्चालन गरिनेछ। यस अवधारणाअनुसार नागरिकले एउटै महानगरीय पुस्तकालय कार्डमार्फत पुस्तक लिने, अध्ययन कक्ष प्रयोग गर्ने, इन्टरनेट सुविधा लिने र विभिन्न सामुदायिक कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन्।
