काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोधहरू हटाएर लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले समयसापेक्ष कानुन र कार्यशैलीमा सुधार गर्न सरकार सचेत रहेको बताए।
मन्त्री साहले सरकारको मुख्य भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने रहेको उल्लेख गर्दै निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार भएको बताए। उनले कानुन बाधक भए सुधार गर्ने, प्रक्रिया सरल बनाउने र भ्रष्टाचार वा अनावश्यक हस्तक्षेपमा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरे। डिजिटल अर्थतन्त्र, ई-कमर्स र आधुनिक आपूर्ति शृङ्खलालाई सम्बोधन गर्ने गरी कानुनहरूलाई प्रविधिमैत्री बनाइने उनले जानकारी दिए।
सोही बैठकमा उद्योगी व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक बिदाका कारण औद्योगिक उत्पादकत्वमा नकारात्मक असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बिदाको व्यवस्थालाई औद्योगिक उत्पादनको प्रकृतिसँग मिल्ने गरी पुनर्विचार गर्न आग्रह गरे। मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनिलकुमार शाहले बैंक बिदा कटौती गर्न र उधारो कारोबारसम्बन्धी कानुन तत्काल ल्याउन माग गरे।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले साप्ताहिक बिदाले शिक्षा, स्वास्थ्य र उद्योग व्यवसायमा असर पारेको धारणा राखे। बैठकमा औद्योगिक ग्राम, दोहोरो कर, एकद्वार प्रणाली, चोरी पैठारी नियन्त्रण र विद्युत् आपूर्तिको दिगोपनाजस्ता विषयहरूमा पनि छलफल भएको थियो।
