बिहानको चिया, कफी वा दूधसँगै बालबालिकाका लागि एउटा गिलास हर्लिक्स। धेरै दक्षिण एसियाली परिवारका लागि यो दृश्य अस्वाभाविक होइन।
कतिपय घरमा यो बच्चाको दैनिक पोषणसँग जोडिएको छ, कतिपयमा वृद्धवृद्धाका लागि रातिको पेयसँग। बजारको दृष्टिले भने हर्लिक्स एउटा पेय पदार्थभन्दा निकै ठूलो कथा हो।
यसको पछाडि करिब डेढ सय वर्ष लामो आविष्कार, ब्रान्ड निर्माण, उपभोक्ता मनोविज्ञान, वितरण सञ्जाल र बहुराष्ट्रिय कम्पनीबीचको स्वामित्व हस्तान्तरण जोडिएको छ।
आज हर्लिक्सलाई मुख्यतः माल्टमा आधारित पोषणयुक्त पेयका रूपमा चिनिन्छ। तर यसको सुरुआती उद्देश्य आजको जस्तो बालबालिकाको उचाइ, शक्ति वा बौद्धिक क्षमतासँग जोडिएको थिएन। यसको जन्म त्यस्तो समयमा भएको थियो, जब सुरक्षित, लामो समयसम्म राख्न सकिने र सजिलै प्रयोग गर्न सकिने पोषणयुक्त खाद्यको आवश्यकता तीव्र थियो।
सन् १८७३ मा अमेरिकाको सिकागोबाट सुरु भएको जेम्स र विलियम हर्लिकको व्यवसायले केही वर्षमै उत्पादनको औद्योगिक सम्भावना देखायो।
सन् १८८३ मा उनीहरूले माल्टेड मिल्कलाई तरल पदार्थमा सजिलै घोल्न सकिने पाउडरका रूपमा प्रयोग गर्ने विधिको अमेरिकी पेटेन्ट पाए। यही आविष्कार पछि विश्वप्रसिद्ध हर्लिक्स ब्रान्डको आधार बन्यो।
आज हर्लिक्सको नाम युनिलिभरसँग जोडिएको छ। तर यो ब्रान्ड त्यहाँसम्म आइपुग्दा बीचम, स्मिथक्लाइन बीचम र ग्लाक्सोस्मिथक्लाइन हुँदै आएको लामो कर्पोरेट यात्राबाट गुज्रिएको छ।
यसैले हर्लिक्सको कथा एउटा पेय पदार्थको कथा मात्र होइन। यो एउटा उत्पादन कसरी समयसँगै आफ्नो उपभोक्ता, बजार र पहिचान परिवर्तन गर्दै डेढ शताब्दीसम्म टिक्न सक्छ भन्ने व्यवसायिक अध्ययन पनि हो।
दुई भाइको प्रयोगबाट सुरु भएको व्यवसाय
हर्लिक्सको कथा जेम्स र विलियम हर्लिक दुई भाइबाट सुरु हुन्छ। दुवै बेलायतको ग्लुचेस्टरसायर क्षेत्रका थिए। विलियम सन् १८६९ मा अमेरिका पुगेका थिए। केही वर्षपछि रसायन तथा औषधिसम्बन्धी ज्ञान भएका जेम्स पनि अमेरिका पुगे र दुवै भाइले मिलेर व्यवसाय सुरु गरे।
त्यतिबेला उनीहरूको लक्ष्य केवल स्वादिलो पेय बनाउनु थिएन। लामो समयसम्म सुरक्षित राख्न सकिने र शरीरलाई आवश्यक पोषण उपलब्ध गराउने खाद्य पदार्थ विकास गर्नु थियो।
उनीहरूले माल्टेड जौ, गहुँ र दूधको प्रयोगबाट यस्तो मिश्रण तयार गरे, जसलाई सुकाएर पाउडरका रूपमा राख्न सकिन्थ्यो। पानी वा दूधमा मिसाएर तुरुन्तै प्रयोग गर्न सकिने भएकाले उत्पादनको उपयोगिता तत्काल देखियो।
सन् १८७३ मा उनीहरूले ‘जे एन्ड डब्लु हर्लिक्स’ कम्पनी स्थापना गरे। व्यवसाय सुरु भएको केही वर्षमै कम्पनीले सिकागोबाट विस्कन्सिनको रेसिनतर्फ उत्पादन विस्तार गर्यो। सन् १८८३ मा विलियम हर्लिकले अमेरिकी पेटेन्ट नम्बर २७८,९६७ प्राप्त गरे।
हर्लिक्सको आधिकारिक इतिहासअनुसार यो माल्टेड मिल्कलाई तरल पदार्थमा मिसाउन सकिने प्रविधिसँग सम्बन्धित थियो।
आविष्कारको यही पक्ष हर्लिक्सको पहिलो व्यवसायिक शक्ति बन्यो। उत्पादनलाई लामो समय राख्न सकिन्थ्यो, ढुवानी गर्न सजिलो थियो र प्रयोगका लागि जटिल तयारी आवश्यक पर्दैनथ्यो।
त्यो समयको खाद्य उद्योगका लागि यो ठूलो व्यावसायिक फाइदा थियो।
जेम्ससँग वैज्ञानिक तथा प्राविधिक ज्ञान थियो भने विलियमसँग व्यवसाय विस्तार गर्ने क्षमता। दुई भाइको यही संयोजनले हर्लिक्सलाई एउटा प्रयोगशालाको उत्पादनबाट व्यावसायिक ब्रान्ड बनाउने आधार तयार गर्यो।
अमेरिकाबाट बेलायततर्फ बजार विस्तार
हर्लिक्सको अर्को महत्वपूर्ण निर्णय अमेरिकामा मात्र सीमित नरहनु थियो।
सन् १८९० मा जेम्स हर्लिक बेलायत फर्किए र त्यहाँ अमेरिकी उत्पादन आयात गर्ने कार्यालय स्थापना गरे। त्यसपछि हर्लिक्सको व्यवसाय बेलायतमा विस्तार हुन थाल्यो। सन् १९०६ मा स्लाउमा कारखाना स्थापना गर्ने निर्णय भयो र सन् १९०८ मा करिब २८ हजार पाउन्ड लागतमा बेलायतको पहिलो ठूलो कारखाना सञ्चालनमा आयो।
यही समय हर्लिक्सको ब्रान्ड पहिचान निर्माणका लागि महत्वपूर्ण बन्यो।
उत्पादनलाई केवल शिशुआहारका रूपमा बेचेर बजार सीमित गर्नुभन्दा यसको प्रयोग क्षेत्र फराकिलो बनाइयो। बिरामी, वृद्ध, वयस्क र कठिन भौगोलिक परिस्थितिमा यात्रा गर्ने मानिसका लागि पनि यसलाई उपयोगी पोषणयुक्त खाद्यका रूपमा स्थापित गरियो।
बीसौँ शताब्दीको सुरुआततिर ध्रुवीय अभियानमा हिँडेका अन्वेषकहरूले पनि हर्लिक्स प्रयोग गर्न थाले। उत्तर तथा दक्षिण ध्रुवका अभियानमा हर्लिक्स पुगेको इतिहास ब्रान्डको प्रचारमा पनि महत्वपूर्ण बन्यो। कम्पनीकै इतिहासअनुसार सन् १९०९–१० आसपास रोबर्ट पेरी, रोआल्ड अमुन्डसेन र रोबर्ट फाल्कन स्कटजस्ता ध्रुवीय अभियानका अन्वेषकहरूसँग हर्लिक्स पुगेको थियो।
यसले हर्लिक्सलाई सामान्य खाद्य पदार्थभन्दा फरक छवि दियो।
कठिन परिस्थितिमा पनि प्रयोग गर्न सकिने पोषणयुक्त उत्पादन भन्ने धारणा क्रमशः यसको ब्रान्ड पहिचानको हिस्सा बन्न पुग्यो।
युद्धले बनाइदिएको अन्तर्राष्ट्रिय बजार
पहिलो र दोस्रो विश्वयुद्धले हर्लिक्सको व्यवसायलाई अर्को चरणमा पुर्यायो।
युद्धका क्रममा लामो समयसम्म टिक्ने, कम ठाउँमा राख्न सकिने र तत्काल प्रयोग गर्न सकिने खाद्य पदार्थको आवश्यकता अत्यधिक थियो। हर्लिक्सजस्ता उत्पादनका लागि यही आवश्यकता ठूलो बजार अवसर बन्यो।
दोस्रो विश्वयुद्धका क्रममा हर्लिक्स अमेरिकी, बेलायती तथा अन्य सैनिकका राशनमा समेत समावेश भएको विवरण पाइन्छ। यसलाई लाइफबोट, लाइफर्याफ्ट तथा केही एयरक्रु आपत्कालीन सामग्रीमा समेत राखिन्थ्यो।
युद्धले उत्पादनको माग मात्र बढाएन। यसले ब्रान्डलाई अन्तर्राष्ट्रिय विश्वसनीयता पनि दियो।
उपभोक्ताले हर्लिक्सलाई घरभित्रको पेय मात्र होइन, कठिन परिस्थितिमा पनि उपयोग गर्न सकिने पोषणयुक्त खाद्यका रूपमा बुझ्न थाले।
यही ब्रान्ड छवि पछि नयाँ बजारमा प्रवेश गर्दा हर्लिक्सका लागि ठूलो सम्पत्ति बन्यो।
भारतमा प्रवेश र दक्षिण एसियाली बजारको जन्म
हर्लिक्सको विश्वव्यापी यात्रामा सबैभन्दा महत्वपूर्ण मोड दक्षिण एसिया थियो।
भारतमा हर्लिक्सको प्रवेशलाई लिएर विभिन्न ऐतिहासिक विवरण पाइन्छन्। हिन्दुस्तान युनिलिभरले प्रकाशित गरेको ब्रान्ड इतिहासअनुसार सन् १९१८ तिर ब्रिटिस भारतीय सेनासँग सम्बन्धित माध्यमबाट हर्लिक्स भारत पुगेको थियो।
सुरुमा यो आयातित उत्पादनका रूपमा प्रयोग भयो र विस्तारै पंजाब, बंगाल तथा मद्रास क्षेत्रमा यसको बजार निर्माण भयो।
भारतमा यसको प्रारम्भिक ग्राहक उच्च तथा मध्यमवर्गीय परिवार थिए। त्यस समयमा हर्लिक्स केवल स्वास्थ्यसँग सम्बन्धित वस्तु थिएन। कतिपय परिवारमा यो सामाजिक हैसियतसँग समेत जोडिन पुग्यो। तर भारतीय बजारमा आयात गरेर मात्र लामो समयसम्म व्यवसाय चलाउन सम्भव थिएन।
सन् १९५५ मा भारतको आयात नीतिमा परिवर्तन आएपछि हर्लिक्सको आयात रोकियो। त्यसपछि कम्पनीले भारतमै उत्पादन गर्ने रणनीति अघि बढायो।
सन् १९५६–५७ मा सम्भाव्यता अध्ययनपछि पंजाबको नाभामा कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढ्यो र सन् १९५८ मा हिन्दुस्तान मिल्कफुड म्यानुफ्याक्चरर्स स्थापना भयो।
यही निर्णयले हर्लिक्सको दक्षिण एसियाली व्यवसायको आधार बलियो बनायो।
आयातमा निर्भर ब्रान्ड स्थानीय उत्पादनतर्फ गयो। त्यसपछि उत्पादन, वितरण, मूल्य निर्धारण र बजार विस्तारमा स्थानीय रणनीति अपनाउन सम्भव भयो।
भारत हर्लिक्सका लागि यति महत्वपूर्ण बजार बन्यो कि पछि विश्वव्यापी ब्रान्डको सबैभन्दा बलियो बजारमध्ये एक यही बन्यो।
परिवारको पेयबाट बालबालिकाको ब्रान्डसम्म
हर्लिक्सको व्यवसायिक सफलताको सबैभन्दा महत्वपूर्ण पक्ष यसको उपभोक्ता पहिचान परिवर्तन गर्ने क्षमता हो।
भारतमा यसको प्रारम्भिक प्रचार परिवारकेन्द्रित थियो। परिवारका सबै सदस्यले सेवन गर्न सक्ने पेयका रूपमा यसको बजार बनाइएको थियो। पछि ब्रान्डले बालबालिकालाई केन्द्रमा राखेर नयाँ रणनीति अपनायो।
यो परिवर्तन केवल विज्ञापनको शैली परिवर्तन थिएन। यसले खरिद गर्ने व्यक्ति र प्रयोग गर्ने व्यक्तिबीचको सम्बन्धलाई नै नयाँ ढंगले परिभाषित गर्यो।
बालबालिकाले हर्लिक्स पिउँथे। तर उत्पादन खरिद गर्ने निर्णय धेरैजसो अभिभावकले गर्थे। त्यसैले ब्रान्डले बच्चाको स्वाद र आमाबाबुको चिन्ता दुवैलाई सम्बोधन गर्नुपर्ने भयो।
यही ठाउँमा हर्लिक्सले दक्षिण एसियाली पारिवारिक मनोविज्ञानलाई आफ्नो व्यवसायिक रणनीतिको केन्द्र बनायो।
सन् २००५ मा सुरु गरिएको ‘टोलर, स्ट्रङ्गर, सार्पर’ अभियानले यही रणनीतिलाई थप बलियो बनायो। बालबालिकाको उचाइ, शक्ति र बौद्धिक क्षमतासँग हर्लिक्सलाई जोडेर ब्रान्डले आफ्नो पुरानो ‘पोषणयुक्त पेय’ पहिचानलाई नयाँ पुस्तासँग जोड्यो।
यसको अर्थ एउटा उत्पादन बेच्नु मात्र थिएन।
अभिभावकको मनमा एउटा धारणा निर्माण गर्नु थियो। बच्चालाई राम्रो पोषण दिनुपर्छ र त्यसका लागि हर्लिक्स उपयोगी हुन्छ भन्ने धारणा।
ब्रान्डिङको यही मनोवैज्ञानिक रणनीति हर्लिक्सको दक्षिण एसियाली सफलताको महत्वपूर्ण आधार बन्यो।
एउटै उत्पादनबाट परिवारका फरक आवश्यकता
हर्लिक्सले समयसँगै अर्को महत्वपूर्ण व्यवसायिक रणनीति अपनायो। एउटै उत्पादनलाई फरक उपभोक्ता समूहका आवश्यकता अनुसार विस्तार गरियो।
जुनियर हर्लिक्स बालबालिकाका लागि आयो। मदर्स हर्लिक्स गर्भावस्था र मातृत्वसँग जोडियो। महिलालाई लक्षित उत्पादन, वयस्कका लागि पोषण र कम चिनी वा विशेष आवश्यकता भएका उपभोक्तालाई लक्षित भेरियन्टहरू पनि विकास गरिए।
यसले एउटा महत्वपूर्ण व्यवसायिक समस्या समाधान गर्यो।
यदि एउटै उत्पादन केवल बालबालिकाका लागि हुन्छ भने ग्राहकको दायरा सीमित हुन्छ। तर परिवारका विभिन्न सदस्यका लागि अलग उत्पादन विकास गरेपछि एउटै ब्रान्डले एउटै घरभित्र धेरै ग्राहक बनाउन सक्छ।
यसले हर्लिक्सको ‘फ्यामिली ब्रान्ड’ अवधारणालाई बलियो बनायो।
उत्पादन विस्तारसँगै स्वादमा पनि विविधता थपियो। भारतमा भेनिला, चकलेट, टफी, मह तथा इलाइची जस्ता स्वाद विकास गरिएको इतिहास पाइन्छ। सन् २००३ को उत्पादन पुनर्संरचनापछि यस्ता विविधताले नयाँ पुस्ताका उपभोक्तालाई आकर्षित गर्न थप भूमिका खेले।
व्यवसायको दृष्टिले यो बजार विस्तारको सरल तर प्रभावकारी मोडल थियो।
पुरानो ग्राहकलाई कायम राख्दै नयाँ ग्राहक थप्ने।
वितरण सञ्जालले बनाएको पहुँच
कुनै पनि एफएमसीजी ब्रान्डका लागि विज्ञापन जत्तिकै महत्वपूर्ण हुन्छ वितरण।
हर्लिक्सले यही पक्षमा पनि बलियो उपस्थिति बनायो। भारतजस्ता विशाल र विविध बजारमा उत्पादनलाई केवल ठूला शहरका सुपरमार्केटमा राखेर ठूलो ब्रान्ड बनाउन सम्भव थिएन।
स्थानीय किराना पसल, औषधि पसल, आधुनिक खुद्रा पसल र ठूला खुद्रा सञ्जाल हुँदै हर्लिक्स उपभोक्ताको दैनिक खरिदको सूचीमा पुग्यो। यसमा साना प्याकेजको पनि भूमिका रह्यो। महँगो ठूलो बोतल मात्र बेच्ने रणनीतिले उत्पादनलाई सीमित वर्गमा राख्न सक्थ्यो। विभिन्न आकारका प्याकेट र मूल्यअनुसारका विकल्पले यसको पहुँच फराकिलो बनायो।
यही वितरण क्षमताले हर्लिक्सलाई ‘स्वास्थ्य उत्पादन’बाट ‘दैनिक उपभोग्य एफएमसीजी ब्रान्ड’ बनाउने आधार दियो।
ब्रान्डको अर्को शक्ति : भावनासँग जोडिएको विज्ञापन
हर्लिक्सको इतिहास हेर्दा एउटा कुरा बारम्बार देखिन्छ। कम्पनीले उत्पादनको भौतिक विशेषताभन्दा त्यसबाट उपभोक्ताले प्राप्त गर्ने लाभलाई बढी महत्व दिएको छ।
ब्रिटेनमा हर्लिक्स लामो समयदेखि रातिको पेयका रूपमा पनि स्थापित भयो। भारतमा भने यसको अर्थ फरक बन्यो। त्यहाँ यो परिवार, बालबालिका र पोषणसँग जोडियो।
सन् १९६१ मै हर्लिक्सले ‘द फुड ड्रिंक अफ द नाइट’ अवधारणालाई विज्ञापनमा प्रयोग गरेको थियो। पछि भारतमा परिवार र बालबालिकाकेन्द्रित अभियान विस्तार हुँदै गयो।
यसरी एउटै उत्पादनले विभिन्न बजारमा फरक उपभोक्ता आवश्यकता अनुसार फरक अर्थ निर्माण गर्यो।
यही स्थानीयकरण हर्लिक्सको अन्तर्राष्ट्रिय व्यवसायिक रणनीतिको अर्को महत्वपूर्ण पक्ष हो।
विश्वभर एउटै ब्रान्ड भए पनि उपभोक्ताको मनोविज्ञान एउटै हुँदैन। हर्लिक्सले यही अन्तरलाई पहिचान गर्यो।
दक्षिण एसियामा आमाबाबुको प्राथमिकता बच्चाको वृद्धि र पोषण बन्यो। बेलायतमा यसको उपभोगको अवसर रातिको आरामदायी पेयसँग जोडियो। बजारअनुसार ब्रान्डको कथा बदलियो, तर ब्रान्डको मूल पहिचान भने कायम रह्यो।
बीचमदेखि ग्लाक्सोस्मिथक्लाइनसम्म
हर्लिक्सको व्यवसायिक इतिहास केवल उत्पादन विस्तारको इतिहास होइन। यो निरन्तर स्वामित्व परिवर्तनको इतिहास पनि हो।
सन् १९६९ मा हर्लिक्स लिमिटेडको विश्वव्यापी व्यवसायिक स्वार्थ बेलायती कम्पनी बीचम ग्रुपले खरिद गर्यो। त्यसपछि हर्लिक्स ठूलो बहुराष्ट्रिय कर्पोरेट संरचनाको हिस्सा बन्यो।
बीचमको स्वामित्वमा हर्लिक्सले थप अन्तर्राष्ट्रिय बजार र प्रविधिसँग जोडिने अवसर पायो।
पछि बीचम र स्मिथक्लाइनको मर्जरबाट स्मिथक्लाइन बीचम बन्यो। सन् २००० मा ग्लाक्सो वेलकम र स्मिथक्लाइन बीचमबीचको मर्जरपछि ग्लाक्सोस्मिथक्लाइन अर्थात् जीएसकेको जन्म भयो।
यससँगै हर्लिक्स विश्वकै ठूलो स्वास्थ्य तथा औषधि व्यवसायमध्ये एकको उपभोक्ता स्वास्थ्य पोर्टफोलियोमा पुग्यो।
तर यहाँबाट हर्लिक्सको कथा फेरि अर्को दिशामा मोडियो।
जीएसकेले आफ्नो मुख्य व्यवसाय औषधि, खोप र स्वास्थ्यसम्बन्धी क्षेत्रमा केन्द्रित गर्दै उपभोक्ता पोषण व्यवसायको रणनीतिक समीक्षा गर्न थाल्यो।
तीन अर्ब युरोभन्दा ठूलो कर्पोरेट कारोबार
सन् २०१८ को डिसेम्बरमा जीएसकेले हर्लिक्ससहित भारत, बंगलादेश र अन्य एसियाली बजारका उपभोक्ता स्वास्थ्य तथा पोषण व्यवसाय युनिलिभरलाई हस्तान्तरण गर्ने सम्झौता घोषणा गर्यो।
सम्झौताको कुल प्रतिफल करिब ३.३ अर्ब युरो हुने बताइएको थियो। त्यसमा भारतको जीएसके कन्जुमर हेल्थकेयर र हिन्दुस्तान युनिलिभरबीचको इक्विटी मर्जरसमेत समावेश थियो।
यो कारोबारले हर्लिक्सको कर्पोरेट इतिहासमा ठूलो परिवर्तन ल्यायो।
एकातिर जीएसकेले आफ्नो उपभोक्ता पोषण व्यवसायबाट बाहिरिने रणनीति कार्यान्वयन गर्यो। अर्कोतिर युनिलिभरले दक्षिण एसियाली एफएमसीजी बजारमा आफ्नो पोर्टफोलियो अझ बलियो बनायो।
सन् २०२० अप्रिल १ मा जीएसके कन्जुमर हेल्थकेयर र हिन्दुस्तान युनिलिभरबीचको मर्जर पूरा भयो। हर्लिक्सको भारतसम्बन्धी ब्रान्ड अधिकार पनि नयाँ संरचनामा गयो। भारतमा हर्लिक्सको ब्रान्ड अधिकारका लागि हिन्दुस्तान युनिलिभरले करिब ३ हजार ४५ करोड भारतीय रुपैयाँ तिरेको विवरण पनि सार्वजनिक भएको थियो।
यसरी सन् १८७३ मा दुई भाइले सुरु गरेको एउटा सानो खाद्य व्यवसाय डेढ शताब्दीपछि विश्वकै ठूलो उपभोक्ता वस्तु कम्पनीमध्ये एकको पोर्टफोलियोमा पुग्यो।
दक्षिण एसिया किन बन्यो हर्लिक्सको गढ
हर्लिक्सको विश्वव्यापी बजारमा दक्षिण एसियाको महत्व असाधारण छ।
भारत लामो समयदेखि हर्लिक्सको सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक रहँदै आएको छ। यसको कारण केवल ठूलो जनसंख्या होइन। दक्षिण एसियाली परिवारमा बालबालिकाको पोषण, शैक्षिक सफलता र शारीरिक विकासलाई जोडेर उत्पादन खरिद गर्ने संस्कारले पनि यसलाई सहयोग गरेको छ।
भारतमा हर्लिक्सको ब्रान्डलाई बालबालिकाको पोषणसँग जोड्ने रणनीति यति प्रभावकारी भयो कि स्वास्थ्य पेयको श्रेणीमै यसको नाम स्थापित भयो।
सन् २०१८ को युनिलिभर कारोबारअघि भारतीय स्वास्थ्य खाद्य पेय बजारमा हर्लिक्सको हिस्सा ४५ प्रतिशतभन्दा बढी रहेको र जीएसकेको हर्लिक्स, बुस्ट, माल्टोभा तथा भिभाजस्ता ब्रान्डसहित बजारमा करिब ६० प्रतिशतसम्म पहुँच रहेको विवरण सार्वजनिक भएको थियो।
यसले एउटा कुरा देखाउँछ। हर्लिक्सले भारतमा बजार पाएको मात्र होइन, एउटा श्रेणी निर्माण गर्न सफल भएको थियो।
यही रणनीति बंगलादेश, नेपाल, श्रीलंका र अन्य दक्षिण एसियाली बजारमा पनि यसको विस्तारका लागि आधार बन्यो।
नेपालमा पनि पुरानो परिचित ब्रान्ड
नेपालमा हर्लिक्सको उपस्थिति पनि लामो समयदेखि उपभोक्ता बजारसँग जोडिएको छ।
दक्षिण एसियाली बजारका लागि तयार गरिएको ब्रान्ड रणनीतिले नेपालमा पनि प्रभाव पारेको देखिन्छ। बालबालिका र परिवारकेन्द्रित पोषणको अवधारणाले नेपाली बजारमा हर्लिक्सलाई परिचित बनाएको छ।
नेपालजस्तो बजारमा एफएमसीजी ब्रान्डका लागि सबैभन्दा ठूलो चुनौती पहुँच हो। काठमाडौंका ठूला सुपरमार्केटमा उत्पादन राखेर मात्र राष्ट्रिय ब्रान्ड बन्न सकिँदैन। स्थानीय किराना पसलदेखि क्षेत्रीय बजारसम्म उत्पादन पुर्याउनुपर्ने हुन्छ।
हर्लिक्सको लामो समयदेखिको वितरण र दक्षिण एसियाली बजारकेन्द्रित रणनीतिले यसलाई त्यस्तो बजार संरचनामा काम गर्न मद्दत गरेको छ।
यही कारण हर्लिक्स नेपालमा केवल आयातित विदेशी उत्पादनको छविमा सीमित रहेन। धेरै उपभोक्ताको दैनिक पारिवारिक उपभोगसँग यसको नाम जोडियो।
डेढ सय वर्षपछि बदलिएको चुनौती
तर लामो इतिहास हुनु मात्र भविष्यको ग्यारेन्टी होइन।
हर्लिक्सले अहिले फरक किसिमका चुनौती सामना गरिरहेको छ।
आजका उपभोक्ता ५० वा ६० वर्षअघिका उपभोक्ताभन्दा धेरै सचेत छन्। प्याकेटमा लेखिएको पोषण विवरण, चिनीको मात्रा, क्यालोरी, कृत्रिम सामग्री र स्वास्थ्य दाबीबारे उपभोक्ताले प्रश्न गर्न थालेका छन्।
विशेषगरी बालबालिकाका लागि प्रयोग हुने पेयमा चिनीको मात्रा र स्वास्थ्य दाबीलाई लिएर विश्वभर नियमनकारी बहस बढेको छ।
यसले हर्लिक्सजस्ता पुराना ब्रान्डलाई दुईवटा काम गर्न बाध्य बनाएको छ।
पहिलो, पुरानो ग्राहकको विश्वास जोगाउनु।
दोस्रो, नयाँ पुस्ताका सचेत उपभोक्तालाई विश्वस्त पार्नु।
यसका लागि उत्पादनको फर्मुलेसन परिवर्तन, पोषण सामग्रीको पुनर्संरचना र नयाँ उत्पादन विकास आवश्यक हुन्छ।
पुरानो ब्रान्डको सबैभन्दा ठूलो चुनौती यही हो। दशकौँदेखि स्थापित स्वाद र पहिचान परिवर्तन गर्दा पुराना ग्राहक गुम्न सक्छन्। परिवर्तन नगर्दा नयाँ उपभोक्ता गुम्न सक्छन्।
हर्लिक्सले यही सन्तुलन खोजिरहेको छ।
हर्लिक्सको वास्तविक व्यवसायिक पाठ
हर्लिक्सको यात्रा हेर्दा यसको सफलता कुनै एउटै उत्पादन वा एउटै विज्ञापनको परिणाम देखिँदैन।
पहिलो शक्ति थियो समस्या पहिचान गर्ने क्षमता।
दुई भाइले पोषणको समस्या देखे र त्यसलाई औद्योगिक उत्पादनमा बदले।
दोस्रो शक्ति थियो प्रविधि।
दूध र माल्टलाई लामो समय सुरक्षित राख्न सकिने पाउडरमा परिवर्तन गर्ने प्रविधिले उत्पादनलाई भौगोलिक सीमाबाट बाहिर पुर्यायो।
तेस्रो शक्ति थियो बजार विस्तार।
अमेरिकामा जन्मिएको उत्पादनलाई बेलायत लगियो। त्यसपछि साम्राज्यवादी व्यापार सञ्जाल र स्थानीय उत्पादनमार्फत दक्षिण एसियामा पुर्याइयो।
चौथो शक्ति थियो स्थानीयकरण।
भारतमा हर्लिक्सले बेलायतकै विज्ञापन शैली दोहोर्याएन। स्थानीय परिवार, आमा र बालबालिकाको आवश्यकता केन्द्रमा राखेर ब्रान्डको अर्थ परिवर्तन गर्यो।
पाँचौँ शक्ति थियो उत्पादन विस्तार।
बालबालिकाबाट सुरु भएको बजार परिवारका विभिन्न सदस्यसम्म विस्तार भयो।
छैटौँ शक्ति थियो वितरण।
उत्पादन उपभोक्ताको नजिक पुर्याइयो।
र सातौँ शक्ति थियो कर्पोरेट अनुकूलन।
बीचमदेखि स्मिथक्लाइन बीचम र जीएसके हुँदै युनिलिभरसम्म स्वामित्व परिवर्तन भए पनि ब्रान्डको मूल सम्पत्ति समाप्त भएन।
यही कारण हर्लिक्स एउटा महत्वपूर्ण व्यवसायिक अध्ययन बन्न पुगेको हो।
ब्रान्ड परिवर्तन भयो, आवश्यकता बदलियो, नाम टिकिरह्यो
हर्लिक्सको सबैभन्दा ठूलो उपलब्धि यसको उत्पादनभन्दा पनि ब्रान्डको दीर्घायु हो।
सन् १८७३ मा यसको उद्देश्य शिशुआहारको समस्या समाधान गर्नु थियो। त्यसपछि यो बिरामी र वृद्धका लागि पोषणयुक्त खाद्य बन्यो। ध्रुवीय अभियानमा पुग्यो। युद्धकालीन राशनमा पुग्यो। बेलायतमा रातिको पेय बन्यो। भारतमा परिवारको पोषणसँग जोडियो। त्यसपछि बालबालिकाको वृद्धि, शक्ति र बौद्धिक विकाससँग सम्बन्धित ब्रान्ड बन्यो।
उत्पादनको अर्थ बदलिँदै गयो। बजार बदलिँदै गयो। मालिक बदलिँदै गए। विज्ञापनको भाषा बदलियो। प्याकेजिङ बदलियो। तर एउटा कुरा बदलिएको छैन। हर्लिक्सले आफ्नो उत्पादनलाई उपभोक्ताको जीवनको कुनै महत्वपूर्ण आवश्यकतासँग जोडिरह्यो।
कहिले त्यो आवश्यकता पोषण थियो। कहिले ऊर्जा। कहिले परिवार। कहिले बालबालिकाको वृद्धि।
यही निरन्तर पुनर्स्थापनाले हर्लिक्सलाई डेढ शताब्दीको बजार यात्रामा जीवित राखेको छ।
व्यवसायको भाषामा यसको अर्थ स्पष्ट छ। उत्पादन पुरानो हुँदैमा ब्रान्ड पुरानो हुँदैन। यदि कम्पनीले समयअनुसार उपभोक्ताको आवश्यकता बुझ्न र त्यसअनुसार आफ्नो ब्रान्डको अर्थ परिवर्तन गर्न सक्यो भने एउटा उत्पादन पुस्तौँपुस्ता टिक्न सक्छ।
हर्लिक्सको डेढ शताब्दी लामो यात्रा त्यसैको उदाहरण हो। दुई भाइको प्रयोगशालाबाट सुरु भएको एउटा सानो पोषण उत्पादन आज विश्वव्यापी उपभोक्ता बजारको पुरानो ब्रान्ड बनेको छ। बीचमा कम्पनी फेरिए, बजार फेरिए, उपभोक्ता फेरिए र प्रतिस्पर्धा फेरियो।
हर्लिक्स भने रहिरह्यो।
यसैले हर्लिक्सको वास्तविक कथा एउटा गिलास दूधमा घोलिने पाउडरको कथा होइन। यो आविष्कारलाई ब्रान्डमा, ब्रान्डलाई बजारमा र बजारलाई पुस्तौँसम्म टिक्ने व्यवसायमा बदल्ने रणनीतिको कथा हो।
