काठमाडौं: नेपाल धितोपत्र बोर्डले करिब ६ महिनाको अन्तरालपछि हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ। गत वैशाख २ गतेयता बोर्डबाट कुनै पनि नयाँ कम्पनीले यस्तो अनुमति पाएका थिएनन्। बोर्डमा नेतृत्वको अन्योलका कारण रोकिएको आईपीओ प्रक्रिया यस कम्पनीलाई अनुमति दिएसँगै पुनः सुरु भएको छ।
बोर्डका अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यसबाट कम्पनीले कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको पुँजी संकलन गर्नेछ। हिम पर्वत हाइड्रोपावरको कुल जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ, जसमा १ करोड ६९ लाख कित्ता सेयर समावेश छ।
कम्पनीले आफ्नो जारी पुँजीको ६५ प्रतिशत हिस्सा संस्थापक समूहका लागि र बाँकी ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको छ। यस सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।
