काठमाडौं। अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ।
फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज (एफसीएआई) का अनुसार सन् २०२६ को सेप्टेम्बरमा अस्ट्रेलियामा पेट्रोल सवारीसाधनको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३६.२ प्रतिशतले घटेको छ।
एफसीएआईका अनुसार सोही अवधिमा डिजेल सवारीसाधनको बिक्री १८.४ प्रतिशतले घटेको छ। यसको विपरीत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधन (बीईभी) र प्लग-इन हाइब्रिडको बिक्री भने दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
सेप्टेम्बरमा बिक्री भएका कुल नयाँ सवारीसाधनमध्ये बीईभीको हिस्सा २४.२ प्रतिशत पुगेको छ, जुन अहिलेसम्मकै दोस्रो उच्च हो। अगस्टमा यो हिस्सा २४.९ प्रतिशत पुगेको थियो। बीईभीले लगातार पाँचौँ महिनासम्म नयाँ सवारीसाधन बजारमा २० प्रतिशतभन्दा बढी हिस्सा कायम राखेको छ।
अस्ट्रेलियाको अटोमोबाइल बजारमा चीनले प्रमुख आपूर्तिकर्ताको रूपमा आफ्नो अग्रता कायम राखेको छ। सेप्टेम्बरमा अस्ट्रेलियामा बिक्री भएका कुल सवारीसाधनमध्ये ३५.५ प्रतिशत चीनबाट आपूर्ति भएका थिए भने जापानको हिस्सा २२.५ प्रतिशत रहेको छ। चीनले यस वर्षको फेब्रुअरीमा पहिलोपटक जापानलाई पछि पार्दै यो स्थान हासिल गरेको हो।
विशेषगरी चिनियाँ निर्माता बीवाईडीको बिक्रीमा उल्लेख्य वृद्धि देखिएको छ। सन् २०२६ को सेप्टेम्बरसम्म बीवाईडीले अस्ट्रेलियामा ७६ हजार ६१४ वटा नयाँ सवारीसाधन बिक्री गरेको छ। यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०२ प्रतिशतले बढी हो। विश्लेषकहरूका अनुसार उपभोक्ताको बदलिँदो प्राथमिकता र नयाँ मोडलको उपलब्धताले अस्ट्रेलियाको सवारी बजार परम्परागत इन्धनबाट विद्युतीय प्रविधितर्फ अघि बढिरहेको छ।
