काठमाडौं: बर्दियाको गेरुवा गाउँपालिका-२, राजीपुरका सोनाहा समुदायका मानिसहरू दसैँ खर्च जुटाउन कर्णाली नदीमा सुन चाल्न व्यस्त छन्। परम्परागत रूपमा सुन चाल्ने र माछा मार्ने पेसा गर्दै आएका राजीपुरका ३५ मध्ये ३२ घरधुरी अहिले नदी किनारमा सक्रिय छन्।
बिदाको समयमा बालबालिकासहित नदी किनारमा पुग्ने सोनाहाहरू दिनभर त्यहीँ काम गर्ने, खाना पकाउने र माछा मार्ने गर्छन्। स्थानीय कुस्मी सोनाहाका अनुसार अन्य दिनमा बालबालिका विद्यालय गए पनि बिदाको समयमा भने पूरै परिवार नदी किनारमै खटिन्छन्। खेतीपातीको काम नभएको र दसैँ नजिकिएकाले खर्च जुटाउन सुन चाल्नुपरेको महिमादेवी सोनाहाले बताउनुभयो। मेहनत गरेमा एक परिवारले दैनिक एकदेखि डेढ लालसम्म सुन निकाल्ने गरेको उहाँको भनाइ छ। स्थानीय व्यापारीले गाउँमै आएर प्रतिलाल २४ सय रुपैयाँका दरले सुन खरिद गर्ने गरेका छन्। यद्यपि, बर्दिया राष्ट्रिय निकुञ्जले सुन पाइने स्थानमा जान रोक लगाउने गरेको उहाँले गुनासो गर्नुभयो।
नेपाल सोनाहा संघका पूर्व अध्यक्ष घुमलाल सोनाहाका अनुसार पहिलेको तुलनामा सुन पाइन छाडेको छ। अहिले दैनिक ज्याला जति पनि मुस्किलले उठ्ने गरेको भन्दै उहाँले जीविकोपार्जनका लागि अन्य पेसा अपनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सरकारले यही पेसालाई व्यवस्थित र सहज बनाइदिएमा सोनाहाको परम्परागत पेसा जोगिने थियो।”
सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाका अनुसार देशभर ११ सय ८२ जना सोनाहा रहेका छन्, जसमध्ये बर्दियामा मात्रै ३ सय घरधुरीमा करिब ८ सय जनाको बसोबास छ। पेसाबाट आम्दानी नभएपछि अधिकांश अन्य पेसामा आश्रित छन्। सोनाहा समुदायलाई लोपोन्मुख आदिवासी जनजातिको सूचीमा नराखिएको भन्दै उहाँले गुनासो गर्नुभयो। सर्वोच्च अदालतले २०७२ मंसिरमा सोनाहालाई लोपोन्मुख सूचीमा राखेर सामाजिक सुरक्षा प्रदान गर्न सरकारलाई निर्देशन दिए पनि हालसम्म कार्यान्वयन भएको छैन।
