काठमाडौं । एनआईसी एशिया बैंकले बीएमडब्लु ब्राण्डका सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । बैंकले काठमाडौंस्थित बीएमडब्लुको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्स प्रालिसँग यससम्बन्धी समझदारी गरेको हो ।
समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एनआईसी एशियाका ग्राहकले लक्ष्मी प्रिमियम मोटर्सबाट बीएमडब्लु ब्राण्डका विभिन्न मोडलका सवारीसाधन खरिद गर्दा विशेष कर्जा सुविधा पाउनेछन् । परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहने ग्राहकले बैंकको औसत आधारदरमा थप १ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् ।
स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने ७ वर्षसम्म ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
यसैगरी, कर्जा प्रक्रियाअन्तर्गत लाग्ने प्रशासनिक सेवा शुल्कमा २५ बेसिस पोइन्ट छुटको सुविधा पनि दिइनेछ । बैंकका अनुसार ग्राहकलाई कर्जा प्रक्रिया छिटो र सहज रूपमा सम्पन्न गरी सवारीसाधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराइनेछ ।
एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच भएको यो समझदारीले बीएमडब्लुका सवारीसाधन खरिद गर्न चाहने बैंकका ग्राहकलाई तुलनात्मक रूपमा सहज वित्तीय सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
