काठमाडौं । पश्चिम नेपालमा बीवाईडी ब्राण्डका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको टिम इलेभेन ईभी वर्ल्डले एकै वर्ष १ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २३ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीको कारोबार पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको देखिन्छ । कम्पनीले सन् २०२४ मा ९२ करोड ८० लाख रुपैयाँ र सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आर्थिक वर्षमा भने कारोबार बढेर १ अर्ब २३ करोड १० लाख रुपैयाँ पुगेको हो ।
कारोबारसँगै कम्पनीको सञ्चालन तथा खुद नाफा मार्जिनमा समेत सुधार आएको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा मार्जिन २.०७ प्रतिशत र खुद नाफा मार्जिन १.१९ प्रतिशत रहेको छ । सन् २०२५ मा यस्तो मार्जिन क्रमशः १.९८ प्रतिशत र १.०४ प्रतिशत रहेको थियो ।
कम्पनीको वित्तीय संरचना पनि सहज अवस्थामा रहेको देखिएको छ । कम्पनीको समग्र गियरिङ ०.४८ गुणा रहेको छ । त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात ५.३३ गुणाबाट बढेर ५.६३ गुणा पुगेको छ । यसले कम्पनीको ऋण व्यवस्थापन तथा ब्याज भुक्तानी क्षमतामा सुधार भएको देखाउँछ ।
सन् २०२१ मा स्थापना भएको टिम इलेभेन ईभी वर्ल्ड बीवाईडी ब्राण्डका विद्युतीय यात्रुवाहक तथा व्यावसायिक सवारीसाधनको डिलरका रूपमा सञ्चालनमा रहेको छ । कम्पनीले पश्चिम नेपालका विभिन्न बजारलाई लक्षित गर्दै नेपालगञ्ज र दाङमा दुईवटा शोरुम तथा सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै बीवाईडीका सवारीसाधनको बजार विस्तार हुँदा कम्पनीको कारोबारमा पनि वृद्धि भएको देखिएको छ । पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको माग बढ्दै जाँदा आधिकारिक डिलर तथा सर्भिस नेटवर्क विस्तार गर्ने कम्पनीहरूको व्यवसायमा समेत वृद्धि भइरहेको छ ।
कम्पनीले आफ्नो दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ८० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमध्ये १ करोड २ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा र ७८ करोड ९८ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराइएको छ ।
कम्पनीको पुँजीगत संरचना सहज रहेको र ऋणको भार तुलनात्मक रूपमा कम रहेको उल्लेख गरिएको छ । कम गियरिङ र सुधारिएको ब्याज कभरेजले कम्पनीको वित्तीय जोखिम व्यवस्थापनमा सकारात्मक अवस्था देखाएको छ ।
टिम इलेभेन ईभी वर्ल्डको सञ्चालक समितिमा पाँच जना निर्देशक रहेका छन् । कम्पनीको अध्यक्षमा बिमलकुमार पौडेल रहेका छन् । कम्पनीले बीवाईडीका विद्युतीय यात्रुवाहक तथा व्यावसायिक सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सर्भिस सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
