काठमाडौं: हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथि आक्रमणका घटना बढेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। पश्चिम एसियाबाट हुने तेल आपूर्तिमा जोखिम बढेको भन्दै लगानीकर्ताहरू चिन्तित बनेका छन्। बेलायतको मेरिटाइम ट्रेड अपरेसनका अनुसार यस महिना हर्मुज जलघाँटी र पर्सियन खाडी क्षेत्रमा ९ वटा आक्रमणका घटना भएका छन्। यसअघि तेलको मूल्यमा केही गिरावट आएको भए पनि पछिल्ला घटनाले बजारलाई पुनः प्रभावित पारेको छ।
पेपरस्टोनका क्रिस वेस्टनले तेलको प्रवाह बढेको रिपोर्टले मूल्यमा केही दबाब दिए पनि जहाजमाथिको आक्रमणसम्बन्धी खबरले त्यसलाई सन्तुलित गरेको बताएका छन्। उनका अनुसार बजार अहिले भूराजनीतिक जोखिमप्रति अत्यधिक संवेदनशील छ। यसैबीच यमनका हुथी विद्रोहीले रियादको विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन्। यद्यपि, यमनी सरकारी फौजले उक्त दाबीलाई अस्वीकार गर्दै इरान समर्थित समूहलाई बाब अल-मन्डब र मोचा क्षेत्रबाट हटाएको जनाएको छ।
क्षेत्रीय तनावको असर एसियाली सेयर बजारमा पनि देखिएको छ। टोकियो, हङकङ, सिङ्गापुर, सियोल, वेलिङ्टन र ताइपेईका सेयर बजारमा गिरावट आएको छ भने सिड्नी र मनिलाका बजारमा सामान्य वृद्धि देखिएको छ। अर्कोतर्फ, अमेरिकी नास्डाक र एस एन्ड पी ५०० सूचक नयाँ कीर्तिमानमा पुगेका छन्। एनभिडियाको सेयर मूल्यमा भएको वृद्धिले कम्पनीको बजार पुँजीकरण ५७ खर्ब अमेरिकी डलर पुगेको छ।
यसैबीच, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार स्पेसएक्सले एनभिडियाका चिप खरिद गर्न ४० अर्ब अमेरिकी डलर जुटाउने प्रयास गरिरहेको छ। यसले लगानीकर्तामा उत्साह जगाए पनि कृत्रिम बौद्धिकता क्षेत्रमा गरिएको ठूलो लगानीबाट प्रतिफल कहिले प्राप्त हुन्छ भन्ने चिन्ता भने कायमै रहेको छ।
