काठमाडौं: दुग्ध विकास संस्थान (डिडिसी) र नेपाली सेनाबीच दैनिक रूपमा दुध तथा दुग्धजन्य पदार्थ खरिद-बिक्री गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार सेनाले देशभरका ३२ जिल्लामा रहेका आफ्ना युनिटहरूका लागि डिडिसीबाट दैनिक १० हजार २५१ लिटर दुध खरिद गर्नेछ।
संस्थानका अनुसार वार्षिक रूपमा सेनाले ३७ लाख ४१ हजार ५०६ लिटर दुध खरिद गर्नेछ। यसका साथै दैनिक ३६५ केजीका दरले वार्षिक १ लाख ३३ हजार ५२२ केजी दही, दैनिक ३७ केजीका दरले वार्षिक १३ हजार २४० केजी पनिर, दैनिक २१ केजीका दरले सात हजार ४४१ केजी मिल्क पाउडर र दैनिक १५ केजीका दरले पाँच हजार २७८ केजी चिज आपूर्ति गरिनेछ। डिडिसीका महाप्रबन्धक डा. शरण कुमार पाण्डे र नेपाली सेनाका सहायक रथी सञ्जय कुमार रञ्जितले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
संस्थानले आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने उद्देश्यले यो सम्झौता गरिएको जनाएको छ। हाल डिडिसीले दैनिक ५५ हजार देखि ६० हजार लिटर दुध संकलन गर्दै आएको छ भने दैनिक ८० हजार देखि ८५ हजार लिटर दुध बजारमा बिक्री गरिरहेको छ। अपुग दुध पाउडरबाट तयार गरी वितरण गरिँदै आएको संस्थानले जनाएको छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष मोहीको बिक्री १३३ प्रतिशत, याक चिजको ५० प्रतिशत र फ्रेस मिल्कको बिक्री २१ प्रतिशतले वृद्धि भएको छ। हाल दैनिक दुध बिक्रीबाट ९० लाख रुपियाँ संकलन गरिरहेको संस्थानले उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। संस्थानले दैनिक बिक्रीलाई १ करोड २० लाख रुपियाँ पुर्याउने लक्ष्य राखेको छ।
