काठमाडौं: सामसङले आफ्नो ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा एआई फिचर र लामो समयसम्म चल्ने ब्याट्री खोज्ने युवा प्रयोगकर्तालाई लक्षित गरी यो फोन ल्याइएको कम्पनीले जनाएको छ।
सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले भने, ‘नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्याउँदै एआई को पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट असम इन्टेलिजेन्सको संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।’
यो फोनमा ६.७ इन्चको ठूलो डिस्प्ले र ८.० मिमीको पातलो बडी रहेको छ। फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीनवटा रङमा उपलब्ध छ। यसमा ६,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले गेमिङ, स्ट्रिमिङ र सोसल मिडिया ब्राउजिङका लागि लामो समयसम्म ब्याकअप दिने कम्पनीको दाबी छ।
सुरक्षा र टिकाउपनका लागि यसमा आईपी६४ रेटिङ प्रदान गरिएको छ, जसले धुलो र पानीका छिटाहरूबाट डिभाइसलाई सुरक्षित राख्छ। सामसङले यो फोनमा ६ जेनेरेसनसम्मको ओएस अपग्रेड र ६ वर्षसम्मको सुरक्षा अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसले प्रयोगकर्तालाई आगामी वर्षहरूसम्म फोन सुरक्षित र अद्यावधिक राख्न मद्दत गर्नेछ।
