काठमाडौं: नेपालका दुईवटा होटलले सन् २०२६ को कोन्डे नास्ट ट्राभलर रिडर्स च्वाइस अवार्ड प्राप्त गरेका छन्। मुस्ताङस्थित लग्जरी होटल शिन्तामणि मुस्ताङ र काठमाडौंको बुटिक होटल द्वारिकाजले उक्त प्रतिष्ठित सम्मान पाएका हुन्।
यो अवार्ड बेलायती पाठकहरूको मतका आधारमा प्रदान गरिन्छ। पाठकहरूले आफ्नो यात्रा अनुभवका आधारमा विभिन्न गन्तव्य, होटल र सेवा प्रदायकलाई मत दिने गर्दछन्। यस वर्षको नतिजाले स्थानीय संस्कृति, खानपान, विशिष्ट आतिथ्यता र यात्राको अनुभवलाई प्राथमिकता दिने गरेको होटल शिन्तामणिले जनाएको छ।
शिन्तामणि मुस्ताङको डिजाइनमा स्थानीय मौलिकतालाई प्राथमिकता दिइएको छ। प्रख्यात डिजाइनर बिल बेन्सलीद्वारा तयार पारिएको यसको भित्री सजावटले मुस्ताङको भू-बनोट र परम्परागत वास्तुकलालाई झल्काउँछ।
शेर्पा हस्पिटालिटी ग्रुपका सीईओ नामग्याल शेर्पाले यो सम्मानले नेपाललाई एक अर्थपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने बताएका छन्। उनले भने, ‘हाम्रा लागि सबैभन्दा ठूलो सौभाग्य भनेको पाहुनाहरूलाई मुस्ताङसँग यस्तो तरिकाले परिचित गराउन सक्नु हो, जुन केवल कुनै गन्तव्यको भ्रमणभन्दा माथि हुन्छ।’
नेपालका दुईवटा होटल यस सूचीमा पर्नुले नेपालप्रतिको अन्तर्राष्ट्रिय चासो र यसको पर्यटन क्षेत्रको गुणस्तरलाई दर्शाउने होटलले उल्लेख गरेको छ।
