काठमाडौं: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई आत्मनिर्भर र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताएका छन्।
नेपाल विज्ञापन संघ (आन) ले ललितपुरमा आयोजना गरेको १३औँ रेड बुल कृति अवार्डको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले विज्ञापन बजारका समस्या र चुनौती पहिचान गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताए। उनले विज्ञापन क्षेत्र केवल व्यावसायिक नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र र अर्थतन्त्रसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे।
विज्ञापन उद्योगको विकासले अर्थतन्त्र र लोकतान्त्रिक अभ्यासमा सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो। उनले विज्ञापन क्षेत्रका अवरोध हटाउन र यसलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणभन्दा बाहिर राखी स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। प्रविधिको तीव्र परिवर्तनलाई मध्यनजर गर्दै आगामी ५ देखि १० वर्षको नीति निर्माणमा सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विज्ञापनलाई खर्चका रूपमा नभई ब्रान्ड र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताए। नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्वको स्रोत मात्र नभई अर्थतन्त्रको साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे।
सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले विज्ञापन क्षेत्रको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी दिए।
