काठमाडौं: लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता परेको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। विशेष गरी पाक्न लागेको र काटेर सुकाउन राखिएको धानबाली वर्षाका कारण प्रभावित भएको किसानहरूले बताएका छन्। असोज २०, २१ र २२ गते प्रदेशका विभिन्न स्थानमा वर्षा भएको थियो।
वर्षाबाट प्रभावित क्षेत्रको यकिन विवरण आउन बाँकी छ। लुम्बिनी प्रदेश कृषि निर्देशनालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको छ। निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेका अनुसार बर्दिया, बाँके, रुपन्देही र कपिलवस्तु लगायतका जिल्लाबाट धानबालीमा क्षति पुगेको अनौपचारिक गुनासो आएको छ।
निर्देशक पाण्डेले भने, ‘अहिले तथ्याङ्क सङ्कलनकै क्रममा छौँ। स्थानीय तहले विवरण सङ्कलन गरिरहेका छन्। स्थानीय तहबाट सङ्कलित विवरण जिल्लामा आउने र सबै जिल्लाको विवरण प्राप्त भएपछि प्रदेशले विश्लेषण गर्छ।’
निर्देशनालयका अनुसार आज र भोलिसम्ममा क्षतिको विवरण सङ्कलन गर्ने काम पूरा हुनेछ। त्यसपछि प्रदेश सरकारले वर्षाका कारण भएको कृषि क्षतिको यकिन तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरेको छ।
