काठमाडौं: बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोसप र एआईको प्रयोग गरी हवाई भाडादरबारे फैलाइएको भ्रमप्रति आपत्ति जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले काठमाडौं-धनगढी एकतर्फी हवाई भाडा १० हजार ८ सय रूपैयाँमा नै उपलब्ध गराइरहेको स्पष्ट पारेको छ।
रसुवामा आएको बाढी र पहिरोले सडक यातायात अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ। यो व्यवस्था दशैँ-तिहारसम्म कायम रहने बुद्ध एयरको भनाइ छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले आफ्नो आधिकारिक प्रणालीभन्दा बढी रकम लिएर कुनै व्यक्ति वा ट्राभल एजेन्सीले टिकट बिक्री गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यात्रुलाई अनधिकृत माध्यमबाट फैलाइएका स्क्रिनसट वा सूचनाको पछि नलाग्न आग्रह गर्दै बुद्ध एयरले टिकट तथा भाडादरबारे जानकारी लिन आफ्नो आधिकारिक वेबसाइट र मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ।
अहिले काठमाडौं बाहिर जाने यात्रुको चाप बढेको भन्दै कम्पनीले काठमाडौं भित्रिने यात्रुहरूका लागि समेत प्रोमो कोडमार्फत् विभिन्न अफर उपलब्ध गराएको जनाएको छ। विपद्को समयमा यात्रुलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने बुद्ध एयरले स्पष्ट पारेको छ।
