काठमाडौं: नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७४ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। भदौ ११ गते स्वीकृत भएको यो बजेट बिहीबार सार्वजनिक गरिएको हो।
बोर्डले यस वर्षको बजेटमार्फत पर्यटक आगमनमा १५ प्रतिशतले वृद्धि गर्ने, ‘नेपाल आरोग्य वर्ष २०२७’ को विश्वव्यापी प्रवर्द्धन गर्ने र डिजिटल मार्केटिङलाई उच्च प्राथमिकतामा राख्ने रणनीति लिएको छ। बजेटको मुख्य स्रोतका रूपमा पर्यटन सेवा शुल्कलाई लिइएको छ, जसबाट १ अर्ब १७ करोड ७ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ। यो रकम गत वर्षको तुलनामा २९ प्रतिशतले बढी हो। यसबाहेक पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) शुल्क, निजी क्षेत्रको सहभागिता र अघिल्लो वर्षको सञ्चित बचतलाई पनि स्रोतका रूपमा समेटिएको छ।
बोर्डले कम्तीमा २५ वटा स्रोत बजारमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, ५ हजार थप पर्यटन जनशक्तिको सीप विकास गर्ने र १० वटा नयाँ पर्यटन गन्तव्यको पहिचान गर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय बजारका लागि भारत, चीन र बङ्गलादेशलाई उच्च प्राथमिकतामा राखिएको छ। भारतका मुख्य सहरहरूमा सेल्स मिसन सञ्चालन गर्ने, लुम्बिनीको प्रवर्द्धन गर्ने र डिजिटल प्लेटफर्म तथा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने योजना बोर्डले सार्वजनिक गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३ सय ५७ विदेशी पर्यटक भित्रिएका थिए, जुन सन् २०१९ को तुलनामा १.०२ प्रतिशतले बढी हो। सो अवधिमा कुल पर्यटक आगमनमा भारतीय पर्यटकको हिस्सा २५.७८ प्रतिशत र सार्क क्षेत्रको हिस्सा ३७.६० प्रतिशत रहेको थियो।
