काठमाडौं: नेपाल विज्ञापन सङ्घ (आन) ले आयोजना गरेको रेडबुल १३औँ कृति अवार्ड्स २०८३ को औपचारिक उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अवार्ड्सको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा विज्ञापन, सञ्चार, उद्योग र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले स्थापित यस अवार्ड्सको १३औँ संस्करणमा विभिन्न व्यावसायिक तथा नियामक निकायहरूको सहकार्य रहेको छ। यस वर्ष नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन गरेका छन्। त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल सह-आयोजकका रूपमा थपिएका छन्।
आयोजकका अनुसार यस वर्षदेखि आनका गैर-सदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको छ। यसले अवार्ड्सलाई थप व्यापक र समावेशी बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली विज्ञापन क्षेत्रको विकासक्रम झल्काउने अडियो-भिजुअल प्रस्तुति देखाइएको थियो। कार्यक्रममा बोल्दै आनका पूर्वअध्यक्ष एवं कृति अवार्ड्सका प्रवर्द्धक भास्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए भने सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गर्दै नेपाली विज्ञापन क्षेत्रका उत्कृष्ट सिर्जना र योगदानको सम्मान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
