काठमाडौं । श्री एयरलाइन्सले चाडपर्वको समयमा काठमाडौं बाहिरिने उडानमा उच्च दरको भाडा बन्द गरी न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइरहेको जनाएको छ। हवाई भाडादरबारे सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा भ्रामक सूचना सम्प्रेषण भएको भन्दै कम्पनीले मंगलबार विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार बडादसैँ तथा तिहारका बेला काठमाडौं बाहिरिने यात्रुको चाप उच्च हुने र काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले यात्रु व्यवस्थापनलाई ध्यानमा राखेर उच्च वर्गको भाडादर बन्द गरिएको हो। उपलब्ध भएसम्म बाहिरिने उडानमा न्यूनतम भाडादरमै टिकट बिक्री भइरहेको कम्पनीको दाबी छ।
त्यस्तै, काठमाडौं भित्रिने उडानमा पनि न्यूनतम भाडादरअन्तर्गत विशेष अफरका टिकट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यात्रुले एयरलाइन्सको आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुकिङ गर्न सक्नेछन्।
विश्वव्यापी परिस्थितिका कारण हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि हुँदा हवाई सेवा सञ्चालन लागत र भाडादरमा प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ।
कठिन परिस्थितिका बाबजुद यात्रुलाई सहज, सुरक्षित, भरपर्दो र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको श्री एयरलाइन्सका निर्देशक तथा प्रवक्ता अनिल मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
