काठमाडौं। भारतमा बढ्दो राजनीतिक तनावले नेपालको व्यापार, अर्थतन्त्र र चाडपर्वको बजार व्यवस्थापनमा गम्भीर असर पार्न सक्ने जेनजी अगुवा रवि किरण हमालले चेतावनी दिएका छन्।
उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारलाई आपूर्ति व्यवस्था र आर्थिक सुरक्षाका लागि पूर्वतयारी गर्न आग्रह गरेका छन्।
भारतमा निर्वाचन प्रक्रिया, मतदाता सूची र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार नयाँदिल्लीमा निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनका अगुवा अभिजित दीप्केसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नयाँदिल्लीका मेट्रो स्टेसन, रेल सेवा र मोबाइल इन्टरनेटमा समेत प्रतिबन्ध लगाइएको छ।
हमालका अनुसार नेपालको व्यापार तथा आयातमा भारतको ठूलो निर्भरता रहेकाले त्यहाँको राजनीतिक अस्थिरताले नेपाली बजारमा वस्तुको आपूर्ति प्रभावित हुन सक्छ। विशेषगरी इन्धन, खाद्यान्न र औषधिको आपूर्तिमा अवरोध आउँदा मूल्यवृद्धि र अभावको जोखिम बढ्ने उनको विश्लेषण छ। दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले सरकारले समयमै सचेत हुनुपर्ने उनले बताए।
उत्तरी नाकामा बाढीपहिरोका कारण देखिएका समस्या र भारततर्फको आपूर्तिमा आउन सक्ने अवरोधले बजार व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने हमालको भनाइ छ। उनले सरकारलाई आवश्यक वस्तुको मौज्दात समीक्षा गर्न, वैकल्पिक आपूर्ति मार्ग तयार पार्न, बजार अनुगमन बढाउन र कालोबजारी नियन्त्रण गर्न सुझाव दिएका छन्। संकट आएपछि हतारमा निर्णय लिनुभन्दा पूर्वतयारी गर्नु राज्यको दायित्व भएको उनको जोड छ। दीर्घकालीन रूपमा स्वदेशी उत्पादन बढाउन र आयातका स्रोत विविधीकरण गर्नुपर्नेमा उनले जोड दिएका छन्।
