काठमाडौं। बाढी र पहिरोले १५ दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालनमा आएपछि मुस्ताङका किसानले बगैँचामा रोकिएको स्याउ बजार पठाउन थालेका छन्।
असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण सडकको ४६ स्थानमा क्षति पुग्दा स्याउ ढुवानी रोकिएको थियो।
सडक अवरुद्ध हुँदा दशैंको मुखमा स्याउ बजार पुर्याउन नपाएर निराश बनेका थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका किसानले अहिले धमाधम स्याउ टिप्न र पठाउन सुरु गरेका छन्।
बारागुङ मुक्तिक्षेत्र-४ का कृषक आङ्ग्या गुरुङले सडक खुलेपछि शुक्रबार र शनिबार गरी ३ वटा ट्रक स्याउ काठमाडौं पठाएको बताउनुभयो। उहाँले ढिलो बजारमा गए पनि चिसो हावापानीका कारण स्याउको गुणस्तर नखस्किएको जानकारी दिनुभयो।
मुस्ताङका अगुवा कृषक कर्म गुरुङका अनुसार करिब एक सय किसानले फूलपातीसम्म बाँकी स्याउ बजारमा लैजाने तयारी गरेका छन्।
हाल मुस्ताङमा उच्च घनत्वको गाला र किङरोड जातको स्याउ प्रति केजी २१० रुपैयाँ र स्थानीय जातको स्याउ १८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणी अर्यालले प्राविधिक टोलीले बगैँचाको अवलोकन गर्दा स्याउमा कुनै समस्या नदेखिएको बताउनुभयो।
मुस्ताङमा सडक अवरुद्ध हुँदा करिब ७० देखि ८० करोड रुपैयाँ बराबरको स्याउ रोकिएको थियो। जिल्लाको ८३० हेक्टरमा स्थानीय जातको स्याउ खेती गरिएको छ भने ६५ हेक्टरमा उच्च घनत्वको स्याउ खेती विस्तार भएको छ।
स्थानीय प्रजातिबाट ६ हजार ७८ मेट्रिक्टन र उच्च घनत्वबाट ८ हजार ४ सय ९६ मेट्रिक्टन उत्पादन हुने लक्ष्य राखिएको छ। मुस्ताङको स्याउ स्वादिलो र लामो समयसम्म ताजा रहने भएकाले बजारमा उच्च माग रहेको छ।
