म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको महभिर गाउँ पहिरोका कारण विस्थापित भएको छ । ३० परिवारको बसोबास रहेको महभिरका सबै बासिन्दा पहिरोका कारण गाउँ छोड्न बाध्य भएका हुन् ।
महभिरका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले पहिरो प्रभावितहरू सिरुवारीमा अस्थायी शिविर बनाएर बस्न थालेकाे जानकारी दिए ।
‘बस्तीदेखि तल ठूलो पहिरो छ, गाउँको बीचबीचमा पनि पहिरोले चिराचिरा पारेको छ । घरगोठका पर्खाल, आँगन चर्किएर बस्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ नै पहिरोले बगाउने जोखिम भएकाले सिरुवारीमा अस्थायी शिविर बनाएर राखेका छौँ ।’
महभिरमा रहेको कक्षा ५ सम्मको पठनपाठन हुने चन्द्र आधारभूत विद्यालयलाई पनि सिरुवारीमा सारिएको वडाध्यक्ष गर्बुजाले बताए । यही ८ देखि ११ असाेजसम्मको निरन्तरको झरीपछि महभिरमा पहिरो सिर्जना भएको हो ।
वडाको विपत् व्यवस्थापन समितिले तयार पारेको प्रतिवेदनअनुसार महभिरसहित अन्नपूर्ण–८ वडामा पर्ने साविक राम्चे गाविसका ५२ परिवारका १२६ जना विस्थापित भएका छन् । पहिरोले घर बगाउँदा धारापानीमा सविन चोचाङ्गीको मृत्यु भएको र मनोज चोचाङ्गी बेपत्ता भएका छन् ।
ओखलखर्क झुम्रेखोरमा तीन, धारापानीमा चार, गाउँफाँटमा ११, थलथलेमा तीन र चिनारमा दुई घरका परिवार विस्थापित भएका काँफलडाँडाका अगुवा रवी गर्बुजाले जानकारी दिए । विस्थापितलाई गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले उपलब्ध गराएको टेन्टमा शिविर बनाएर राखिएको छ ।
नागी र राम्चेको बीचमा पहिरो गएकाले पहिरो प्रभावित बस्न थालेको सिरुवारी जोड्ने सडक यातायात अवरुद्ध छ । विस्थापितलाई खाद्यान्न र राहत सामग्री हेलिकाेप्टरमार्फत ढुवानी गरिएको छ ।
सवारीसाधनमार्फत बेनीदेखि मल्लाज, फलामेडाँडा हुँदै नागी पुर्याइएको राहत सामग्री स्थानीयवासीले पिठ्युँमा बोकेर ढुवानी गर्ने गरेका छन् ।
पहिरोका कारण महभिर गाउँलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।
