काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नगद लाभांशमा लाग्ने करसमेत बैंकले समेटेको जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।
