काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) तथा फोनपे क्यूआर कारोबारमा उच्च कारोबार गर्न सफल भएकाले बैंकले यी दुई विधामा सम्मान प्राप्त गरेको हो ।
बैंकले ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै विद्युतीय भुक्तानी प्रणालीको विस्तारमा योगदान पुर्याउँदै आएको जनाएको छ । मोबाइल बैंकिङ एपमार्फत ग्राहकले सहजै एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण र ग्राहककेन्द्रित नवीन सेवाका कारण यो उपलब्धि हासिल भएको बैंकको भनाइ छ ।
बैंकले आगामी दिनमा डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण तथा विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिने जनाएको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
