चितवन । वर्षासँगै बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सञ्चालनमा आएको छ । असार १७ गतेदेखि बन्द रहेको सफारी असोज २३ गतेदेखि सुरु गरिएको हो ।
वर्षाका कारण बिग्रिएका निकुञ्जभित्रका सडक मर्मत, ढलेका रूख हटाउने तथा झाडी सफा गर्ने काम सम्पन्न भएपछि सफारी सञ्चालनमा ल्याइएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारीका मार्गमा क्षति पुर्याएकाले सफारी पुनः सञ्चालन गर्न समय लागेको उनले बताए ।
निकुञ्जभित्र जिप सफारी बन्द रहे पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी भने नियमित रूपमा सञ्चालन हुँदै आएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालन हुने गरेका छन् । यी जिपमार्फत पर्यटकले निकुञ्जभित्रका विभिन्न क्षेत्रमा घुमफिर गर्न सक्छन् ।
दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । जिप सफारी पुनः सञ्चालनमा आएसँगै निकुञ्ज भ्रमणमा आउने पर्यटकलाई वन्यजन्तु अवलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
