गुल्मी । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। हवाई सेवा सुरु भएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको छ भने गुल्मीबाट दुई यात्रु लिएर काठमाडौँ फर्किएको छ।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि हवाई उडान अवरुद्ध भएको थियो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा जोखिम हुन सक्ने भएकाले सेवा रोक्नुपरेको उनले बताए।
मौसम अनुकूल भएसँगै नेपाल वायुसेवा निगमले सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ। नयाँ तालिकाअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ८ः१५ बजे उडान हुनेछ।
शुक्रबार काठमाडौँबाट बिहान ६ः२० बजे र रेसुङ्गाबाट बिहान ७ः२० बजे उडान गर्ने तालिका छ।
निगमले काठमाडौँबाट गुल्मीका लागि १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ हवाई भाडा निर्धारण गरेको छ। रेसुङ्गा विमानस्थलमा निगमले १८ सिट क्षमताको ट्विनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ।
लामो समय हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए।
सडकमार्गबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै राजधानी आवतजावत गर्न सहज बनाएको छ।
हवाई सेवा पुनः सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता हुने अपेक्षा गरिएको छ। निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक हवाई सेवा सुरु गरेको थियो।
पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति तथा आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या घटेको बताइएको छ।
