संसारमा यस्ता उत्पादन कमै छन्, जसलाई प्रयोग गर्न कुनै विशेष भाषा जान्नुपर्दैन, लामो निर्देशन पढ्नुपर्दैन र प्रविधिको ज्ञान पनि आवश्यक पर्दैन। केही रङ्गीन टुक्रा हातमा लिएर बच्चाले घर बनाउन सक्छ, गाडी बनाउन सक्छ, पुल बनाउन सक्छ वा आफ्नै कल्पनाको नयाँ संसार खडा गर्न सक्छ।
यही सामान्य देखिने खेलले एउटा कम्पनीलाई विश्वव्यापी व्यावसायिक शक्तिमा रूपान्तरण गरेको छ।
डेनमार्कको लेगोको व्यावसायिक यात्रा यही विचारको उदाहरण हो। आज प्लास्टिकका साना टुक्रा एकअर्कासँग जोडेर संरचना बनाउन सकिने यसको उत्पादन बालबालिकाको खेलौनामा मात्र सीमित छैन।
वयस्कका लागि सङ्कलनयोग्य नमुना, वास्तुकलाका प्रतिकृति, चलचित्रसँग जोडिएका उत्पादन, डिजिटल खेल, मनोरञ्जन पार्क र शैक्षिक गतिविधिसम्म यसको बजार फैलिएको छ।
तर यो साम्राज्य कुनै ठूलो लगानी, विश्वव्यापी वितरण सञ्जाल वा आधुनिक प्रविधिबाट सुरु भएको थिएन। यसको सुरुआत आर्थिक मन्दीको चपेटामा परेको एउटा सानो सिकर्मी कार्यशालाबाट भएको थियो। घरायसी सामान बनाउने काम घटेपछि व्यवसाय जोगाउन नयाँ उत्पादन खोज्नुपरेको थियो।
त्यही खोजले काठका खेलौना जन्मायो। पछि प्लास्टिकका टुक्रा जोड्ने प्रविधिले कम्पनीको भविष्य नै बदलिदियो।
लेगोको इतिहासमा सफलता मात्र छैन। उत्पादन विस्तारको अति महत्वाकाङ्क्षा, व्यवस्थापनको जटिलता, ग्राहकको रुचि बुझ्न नसक्ने जोखिम र आर्थिक संकट पनि छन्।
सन् २००० को दशकको सुरुतिर कम्पनी आफ्नो इतिहासकै कठिन व्यावसायिक अवस्थामध्ये एकमा पुगेको थियो। आफ्नो मूल उत्पादनभन्दा बाहिर फैलिएका गतिविधि र बढ्दो लागतले कम्पनीलाई दबाबमा पारेका थिए।
त्यसपछि लेगोले आफ्नो रणनीति पुनरावलोकन गर्यो र फेरि निर्माण
ब्लक, सिर्जनशील खेल तथा उत्पादनको गुणस्तरमा ध्यान केन्द्रित गर्यो।
यही कारण लेगोको कथा एउटा चर्चित खेलौना ब्रान्डको इतिहासमा मात्र सीमित छैन। यो ग्राहकले किन्ने वास्तविक कारण बुझ्ने, व्यवसायको मूल क्षमता पहिचान गर्ने र सफलता हासिल गरेपछि पनि आफ्नो रणनीति सुधार्न सक्ने संस्थागत क्षमताको कथा हो।
आर्थिक मन्दीले बदलिएको व्यवसाय
लेगोको जन्मसँग जोडिएको आर्थिक परिस्थिति बुझ्न सन् १९२९ को विश्वव्यापी आर्थिक मन्दीपछिको समयतर्फ फर्किनुपर्छ। अमेरिकाबाट सुरु भएको वित्तीय संकटले युरोपेली अर्थतन्त्रलाई समेत प्रभावित गरेको थियो। डेनमार्कको कृषि क्षेत्र दबाबमा परेको थियो।
किसान र साना कृषकको आम्दानी घट्दा उनीहरूले घर निर्माण, मर्मत र काठका सामान खरिदमा गर्ने खर्च कटौती गर्न थालेका थिए। किसान तथा स्थानीय बासिन्दालाई सिकर्मी सेवा उपलब्ध गराउने सानो व्यवसाय चलाइरहेका ओले किर्क क्रिस्टियनसेन पनि यही समस्यामा परे।
सन् १८९१ मा जन्मिएका क्रिस्टियनसेन डेनमार्कको बिलुन्ड क्षेत्रमा सिकर्मीको काम गर्थे। उनले सन् १९१६ मा एउटा सानो सिकर्मी कार्यशाला खरिद गरेका थिए। त्यहाँ घरका लागि आवश्यक काठका संरचना, फर्निचर र अन्य सामग्री बनाइन्थ्यो। व्यवसायको आधार स्थानीय माग थियो।
ग्राहकले घर बनाउँदा वा मर्मत गर्दा काम पाइन्थ्यो। आम्दानीको स्रोत पनि त्यसैमा निर्भर थियो।
आर्थिक मन्दीले ग्राहकको खर्च गर्ने क्षमता घटाएपछि यो व्यवसायको पुरानो ढाँचा टिकाउन कठिन भयो। सन् १९३१ मा उनले आफ्ना अन्तिम सहायक सिकर्मीलाई समेत कामबाट हटाउनुपरेको लेगोको आधिकारिक इतिहासमा उल्लेख छ। नियमित कामको अभावले व्यवसायको भविष्य अनिश्चित बनेको थियो।
यस्तो अवस्थामा उनले उपलब्ध सीप र साधनलाई नयाँ उत्पादनमा प्रयोग गर्ने उपाय खोजे।
उनले काठबाट साना उपयोगी सामान बनाउन थाले। भर्याङ, इस्त्री गर्ने टेबुल, क्रिसमस रूख राख्ने स्ट्यान्डजस्ता सामग्रीसँगै खेलौना बनाउने काम पनि अघि बढ्यो। बजारमा तुरुन्त बिक्री हुन सक्ने वस्तु उत्पादन गर्नुपर्ने बाध्यता थियो।
खेलौना उत्पादन गर्ने निर्णय यही व्यावसायिक खोजको परिणाम थियो। सन् १९३२ मा उनले काठका खेलौना बनाउन थाले। साना गाडी, विमान, योयो र तान्दै खेल्न मिल्ने वस्तु उत्पादन गरिन्थे।
ती खेलौना अहिलेको लेगोका रङ्गीन ब्लकजस्ता थिएनन्। तिनको बनावट सामान्य थियो र उत्पादनमा सिकर्मीको सीप प्रयोग हुन्थ्यो। तर तिनले कम्पनीलाई एउटा नयाँ बजारमा प्रवेश गर्ने बाटो खोलिदिए।
सुरुआती दिन सहज थिएनन्। परिवारको सहयोग लिनुपरेको थियो। व्यवसाय चलाउन ऋण आवश्यक पर्दा उनले दाजुभाइ तथा दिदीबहिनीलाई ऋणका लागि जमानत बसिदिन आग्रह गरेका थिए। उनले मागेको ऋण रकम तीन हजार डेनिस क्रोनर थियो।
परिवारका सदस्यले समेत खेलौना उत्पादनबाट व्यवसाय टिक्छ कि टिक्दैन भन्नेमा आशंका व्यक्त गरेका थिए।
क्रिस्टियनसेनले भने उत्पादनको गुणस्तरमा सम्झौता गरेनन्। काठका खेलौना आकर्षक देखिनु मात्र पर्याप्त थिएन। ती बलिया, सफा र टिकाउ पनि हुनुपर्थ्यो। काठ सुकाउने, काट्ने, घोट्ने, पालिस गर्ने र रङ लगाउने काममा ध्यान दिइन्थ्यो। उनले आफ्ना उत्पादनको गुणस्तरलाई व्यवसायको आधार बनाए।
उनको सोचमा बालबालिकाले प्रयोग गर्ने सामान भएकाले सस्तो बनाउने नाममा गुणस्तर घटाउनु हुँदैन भन्ने मान्यता थियो।
एउटा प्रसिद्ध प्रसङ्गमा उनका छोरा गोड्टफ्रेडले काठका हाँसका खेलौनामा तीन तहको सट्टा दुई तह मात्र रङ लगाएर लागत बचत गरेको बताएका थिए। तर क्रिस्टियनसेनले ती खेलौना फिर्ता ल्याएर बाँकी तहको रङ लगाउन निर्देशन दिए।
उत्पादनमा गुणस्तरको मापदण्ड कायम राख्ने उनको अडानले पछि कम्पनीको व्यावसायिक संस्कृतिमा समेत प्रभाव पार्यो।
सन् १९३४ मा कम्पनीले ‘लेगो’ नाम अपनायो। यो नाम डेनिस भाषाका ‘लेग गोड्ट’ शब्दबाट बनेको हो, जसको अर्थ राम्रोसँग खेल्नु हुन्छ। नामले कम्पनीको उद्देश्यलाई सरल ढङ्गले व्यक्त गर्यो। खेलौनालाई केवल मनोरञ्जनको वस्तु नभई बालबालिकाको सिर्जनशीलता र सिकाइसँग जोड्ने सोच यसको आधारमा थियो।
सन् १९३० को दशकको आर्थिक संकटबाट सुरु भएको यो परिवर्तनले कम्पनीलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो। बजारमा समस्या आउँदा पुरानो व्यवसायको प्रतीक्षा गरेर बस्नुको सट्टा उपलब्ध सीपलाई नयाँ मागसँग जोड्न सकिन्छ। क्रिस्टियनसेनका लागि खेलौना उत्पादन त्यही विकल्प बन्यो।
आगोपछि पनि नरोकिने यात्रा
लेगोको प्रारम्भिक इतिहासमा आर्थिक मन्दी मात्र चुनौती थिएन। उत्पादनस्थलमा लागेको आगोले पनि कम्पनीलाई ठूलो धक्का दिएको थियो।
सन् १९४२ मार्च २० को राति क्रिस्टियनसेनको काठ प्रशोधन कार्यशालामा आगलागी भयो। आगोले उनको जीवनभरको मेहनतबाट बनेको उत्पादन संरचनाको ठूलो हिस्सा नष्ट गरिदियो। परिवारको घर भने जोगियो।
त्यतिबेला कम्पनीको आर्थिक अवस्था बलियो थिएन।
बीमाबाट प्राप्त हुने रकमले नयाँ कारखाना निर्माणको सम्पूर्ण खर्च धान्ने अवस्था थिएन। त्यसैले उत्पादन पुनः सुरु गर्ने निर्णय जोखिमपूर्ण थियो। उपलब्ध पुँजीको सीमितता, नष्ट भएको उपकरण र बजारको अनिश्चितताले उनलाई व्यवसाय छाड्ने अवस्थामा समेत पुर्याएको थियो।
तर उनले बिलुन्डमै कारखाना पुनर्निर्माण गर्ने निर्णय गरे। बैंकको ऋण, परिवार र कर्मचारीको सहयोगबाट नयाँ उत्पादनस्थल निर्माण भयो।
वर्षको अन्त्यसम्म उत्पादन पुनः सुरु भयो। त्यसपछि कम्पनीले खेलौना उत्पादनलाई आफ्नो मुख्य व्यवसायका रूपमा अघि बढायो। आगलागीपछि पनि व्यवसाय निरन्तर चलाउने निर्णयले कम्पनीलाई संकट सामना गर्ने अनुभव दियो।
दोस्रो विश्वयुद्धको समयमा पनि लेगोले उत्पादन जारी राख्यो।
युद्धका कारण केही कच्चा पदार्थको आयात कठिन बनेको थियो। धातु र रबर प्रयोगमा प्रतिबन्ध तथा सीमितता आउँदा काठका खेलौनाको महत्त्व बढ्यो। स्थानीय उत्पादनलाई प्राथमिकता दिने परिस्थितिले डेनमार्कमा बनेका खेलौनाको बिक्रीमा सहयोग पुर्यायो।
यद्यपि काठका खेलौनाको बजार सधैँ बढिरहने निश्चित थिएन। उत्पादनको क्षमता बढाउन सकिए पनि काठ काट्ने, घोट्ने र रङ लगाउने प्रक्रियामा समय लाग्थ्यो। विभिन्न प्रकारका खेलौना बनाउन छुट्टाछुट्टै डिजाइन र उत्पादन विधि आवश्यक हुन्थ्यो।
अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न चाहिने एकरूपता र ठूलो परिमाणमा उत्पादन गर्ने क्षमताका लागि नयाँ प्रविधि आवश्यक थियो।
यही समयमा प्लास्टिक प्रशोधन प्रविधिले उद्योगमा नयाँ सम्भावना खोलिरहेको थियो। प्लास्टिकबाट आकारअनुसारका वस्तु ठूलो परिमाणमा उत्पादन गर्न सकिन्थ्यो। खेलौनाको डिजाइनमा एकरूपता कायम राख्न र उत्पादनको गति बढाउन यो प्रविधि उपयोगी हुन सक्थ्यो।
क्रिस्टियनसेनले सन् १९४७ मा प्लास्टिकका वस्तु उत्पादन गर्न सक्ने इन्जेक्सन मोल्डिङ मेसिन खरिद गरे। त्यतिबेला यो ठूलो लगानी थियो।
काठका खेलौनाबाट स्थापित व्यवसायले प्लास्टिकमा प्रवेश गर्नुको अर्थ उत्पादनको प्रविधि, कच्चा पदार्थ र बजारसम्बन्धी नयाँ जोखिम स्वीकार गर्नु पनि थियो। तर कम्पनीले प्लास्टिकलाई काठको विकल्पका रूपमा मात्र लिएन। त्यसबाट बालबालिकाले जोड्न, छुट्याउन र नयाँ संरचना बनाउन सक्ने खेलौना विकास गर्ने सम्भावना खोज्यो।
सन् १९४९ मा कम्पनीले ‘अटोमेटिक बाइन्डिङ ब्रिक्स’ नामका प्रारम्भिक प्लास्टिक ब्लक बजारमा ल्यायो। ती अहिलेको लेगो ब्लकसँग मिल्दोजुल्दो भए पनि तिनको जोडाइ र स्थिरता सुधार गर्नुपर्ने आवश्यकता थियो।
यो परिवर्तन लेगोको व्यावसायिक यात्राको निर्णायक चरण बन्यो। काठका खेलौनाले कम्पनीलाई स्थापित गरेको थियो, तर प्लास्टिकका ब्लकले उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सकिने आधार तयार पार्दै थिए। कम्पनीको भविष्य अब परम्परागत सिकर्मी सीपसँगै उत्पादन डिजाइन, मोल्ड निर्माण र प्राविधिक सुधारमा निर्भर हुन थाल्यो।
एउटा टुक्राबाट अनन्त सम्भावना
लेगोको वास्तविक विशिष्टता प्लास्टिकका ब्लक उत्पादन गर्नुमा मात्र थिएन। बजारमा अन्य कम्पनीले पनि प्लास्टिकका खेलौना बनाइरहेका थिए। प्रतिस्पर्धामा टिक्न लेगोले आफ्ना टुक्रालाई एकअर्कासँग मजबुत रूपमा जोड्न सकिने र पटकपटक प्रयोग गर्दा पनि संरचना नबिग्रिने बनाउनु आवश्यक थियो।
कम्पनीका संस्थापकका छोरा गोड्टफ्रेड किर्क क्रिस्टियनसेनले प्लास्टिक ब्लकको सम्भावनालाई व्यवस्थित उत्पादन प्रणालीमा रूपान्तरण गर्ने काम अघि बढाए। सन् १९५५ मा उनले ‘लेगो सिस्टम इन प्ले’ अवधारणा विकास गरे। यसले विभिन्न आकारका टुक्रा एउटै खेल प्रणालीअन्तर्गत प्रयोग गर्न सकिने विचारलाई अघि सार्यो।
यस अवधारणाको महत्त्व उत्पादनको सङ्ख्यामा मात्र थिएन।
एउटै ब्लकबाट घर बनाउन सकिन्थ्यो, अर्को दिन त्यही ब्लकबाट गाडी बनाउन सकिन्थ्यो। बालबालिकाले कम्पनीले दिएको नमुना मात्र पछ्याउनुपर्ने थिएन। उनीहरूले आफ्नै कल्पनाअनुसार नयाँ संरचना निर्माण गर्न सक्थे। खेल सकिएपछि टुक्रा छुट्याएर फेरि अर्को संरचना बनाउन सकिन्थ्यो।
यसले लेगोलाई सामान्य खेलौनाभन्दा फरक बनायो। एउटा निश्चित काम गर्ने खेलौनाको उपयोग सीमित हुन सक्छ। तर एकअर्कासँग जोड्न मिल्ने टुक्राको सम्भावना प्रयोगकर्ताको कल्पनाअनुसार फराकिलो हुन्छ। यही लचिलोपन लेगोको दीर्घकालीन प्रतिस्पर्धात्मक आधार बन्यो।
सुरुआती प्लास्टिक ब्लकमा भने एउटा कमजोरी थियो। ती टुक्रा जोडेर बनाइएको संरचना पर्याप्त बलियो हुँदैनथ्यो। बजारबाट आएको प्रतिक्रियाले उत्पादन सुधार्नुपर्ने आवश्यकता देखाएको थियो। कम्पनीले टुक्राको माथिल्लो भागमा रहेका उभार र भित्री भागमा हुने संरचनाबीच उपयुक्त संयोजन खोज्न थाल्यो।
सन् १९५८ जनवरी २३ मा गोड्टफ्रेड र जर्मनीस्थित बिक्री कार्यालयका प्रमुख एक्सेल थोम्सेनबीच ब्लकको जोडाइ सुधार्ने उपायबारे छलफल भयो। त्यसपछि ब्लकको भित्री भागमा ट्युबजस्तो संरचना राख्ने समाधान विकास गरियो।
माथिल्लो उभार र भित्री ट्युबबीचको संयोजनले टुक्रालाई मजबुतसँग जोडिन सहयोग गर्यो।
सन् १९५८ जनवरी २८ मा लेगोले यो डिजाइनका लागि पेटेन्ट आवेदन दियो। यही सिद्धान्तले अहिले पनि लेगोका मूल ब्लकलाई एकअर्कासँग जोड्न सम्भव बनाउँछ। कम्पनीको आधिकारिक विवरणअनुसार २×४ आकारका छवटा ब्लकलाई विभिन्न तरिकाले जोडेर ९१ करोड ५१ लाख ३ हजार ७ सय ६५ सम्भावित संयोजन बनाउन सकिन्छ।
यो प्राविधिक सुधारले उत्पादनको उपयोगिता बढायो। ब्लकहरू बलियोसँग जोडिने भएपछि बालबालिकाले बनाएका संरचना सजिलै नखुल्ने भए। आवश्यकता पर्दा टुक्रा छुट्याएर अर्को संरचना बनाउन पनि सकिन्थ्यो। खेलको मूल्य एउटा पटकको प्रयोगमा सीमित रहेन।
लेगोले आफ्नो प्रणालीलाई समयअनुसार विस्तार गर्यो। सन् १९६२ मा लेगोको पाङ्ग्रा विकास भयो। त्यसपछि गाडी, ट्रक र अन्य चलायमान संरचना बनाउन सकिने सम्भावना बढ्यो। सन् १९६६ मा रेल र मोटर भएको लेगो ट्रेन बजारमा आयो। सन् १९६९ मा साना बालबालिकाका लागि ठूला ब्लक भएको लेगो डुप्लो सार्वजनिक गरियो।
उत्पादनको यो विस्तारले फरक उमेर समूहलाई बजारमा समेट्न सहयोग गर्यो। साना बालबालिकाका लागि ठूला टुक्रा र अलि ठूला उमेरका प्रयोगकर्ताका लागि जटिल संरचना बनाउने सेट उपलब्ध हुन थाले। यसले कम्पनीलाई एउटै उत्पादन प्रणालीभित्र विविध ग्राहक समूहसँग सम्बन्ध कायम गर्ने अवसर दियो।
सन् १९६८ मा डेनमार्कको बिलुन्डमा पहिलो लेगोल्यान्ड मनोरञ्जन पार्क खुल्यो। ब्लकबाट संरचना बनाउने अनुभवलाई वास्तविक आकारका नमुना, प्रदर्शन र पारिवारिक मनोरञ्जनसँग जोड्ने प्रयास थियो। यसले ब्रान्डको पहिचानलाई खेलौना पसलमा बिक्री हुने उत्पादनभन्दा बाहिर पुर्यायो। तर पछि यही प्रकारको विस्तार कम्पनीको आर्थिक संकटको एउटा पक्ष पनि बन्ने थियो।
विश्वव्यापी विस्तार र बढ्दो जोखिम
लेगोले प्लास्टिकका ब्लकलाई आफ्नो मुख्य उत्पादन प्रणाली बनाएपछि अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने अवसर पायो। साना टुक्रा, एकरूप उत्पादन र विभिन्न सेटबीचको अनुकूलताले वितरण तथा उत्पादन व्यवस्थापनमा नयाँ सम्भावना सिर्जना गरे। कम्पनीले युरोपबाहिरका बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्यो।
सन् १९७० र १९८० को दशकमा लेगोले उत्पादनको विविधता बढायो। निर्माण प्रणालीमा आधारित सेट, सवारीसाधन, रेल, प्राविधिक संरचना र विभिन्न उमेर समूहका लागि लक्षित उत्पादन बजारमा आए।
सन् १९७८ मा मिनिफिगर सार्वजनिक भएपछि लेगोका संरचनामा साना मानवीय आकृति पनि समावेश हुन थाले। यसले बालबालिकालाई घर वा गाडी बनाउने मात्र नभई पात्र र कथा निर्माण गर्ने अवसर दियो।
लेगोको बलियो पक्ष यही थियो कि यसले उत्पादनलाई निरन्तर नयाँ सन्दर्भमा प्रयोग गर्न मिल्ने बनायो। एउटै टुक्रा फरक सेटमा प्रयोग गर्न सकिन्थ्यो। नयाँ सेट खरिद गर्दा ग्राहकले पहिलेका टुक्रा फाल्नुपर्ने थिएन। यसले ग्राहकलाई उत्पादनसँग लामो समय जोडिराख्ने आधार तयार गर्यो।
कम्पनीले मनोरञ्जन पार्क, कपडा, घडी, डिजिटल खेल र अन्य उत्पादन क्षेत्रमा समेत सम्भावना खोज्न थाल्यो। विश्वव्यापी ब्रान्डको प्रतिष्ठा अन्य बजारमा पनि उपयोग गर्न सकिन्छ भन्ने सोच यस विस्तारको आधार थियो।
डिज्नीजस्ता ब्रान्डले विभिन्न व्यवसायमा विस्तार गरेको उदाहरणबाट लेगोले पनि सिक्न खोजेको थियो। तर ब्रान्ड लोकप्रिय हुनु र हरेक नयाँ व्यवसाय सफल हुनु फरक कुरा हुन्। खेलौना उत्पादनमा हासिल गरेको अनुभवलाई मनोरञ्जन पार्क सञ्चालन, कपडा बिक्री वा डिजिटल सामग्री निर्माणमा जस्ताको तस्तै प्रयोग गर्न सकिँदैन।
प्रत्येक क्षेत्रमा फरक लगानी, व्यवस्थापन, प्रतिस्पर्धा र ग्राहकको अपेक्षा हुन्छ।
सन् १९९० को दशकको अन्त्यतिर लेगोले आफ्नो मूल उत्पादन प्रणालीबाहिरका गतिविधि विस्तार गर्दै लग्यो। नयाँ उत्पादनको सङ्ख्या बढ्दै गयो। डिजाइनमा प्रयोग हुने छुट्टाछुट्टै टुक्रा र भागको विविधता तीव्र रूपमा बढ्यो। यसले उत्पादन तथा आपूर्ति प्रणालीलाई जटिल बनायो।
उत्पादनका भाग धेरै हुँदा तिनलाई भण्डारण गर्ने, आवश्यकताअनुसार उपलब्ध गराउने र बजारको माग अनुमान गर्ने काम कठिन हुन्छ। कुनै सेटमा प्रयोग हुने विशेष टुक्रा उपलब्ध नभए उत्पादन ढिलो हुन सक्छ। कम बिक्री हुने सेटको मौज्दात बढ्न सक्छ।
उत्पादनको लागत र व्यवस्थापन खर्च बढे पनि बिक्रीमा त्यही अनुपातमा वृद्धि नहुन सक्छ।
लेगोको संकटमा यस्तै जटिलताले भूमिका खेलेको थियो। कम्पनीले नयाँ उत्पादन विकासमा धेरै स्रोत खर्च गरिरहेको थियो, तर सबै उत्पादनले ग्राहकको अपेक्षा पूरा गरेका थिएनन्। केही उत्पादनले कम्पनीको मूल पहिचानसँग मेल खाएनन्। केही नयाँ व्यवसायमा अपेक्षित प्रतिफल प्राप्त भएन।
यसको अर्थ नवीनता गलत थियो भन्ने होइन। लेगोको इतिहासमै नयाँ उत्पादन र प्रविधिले कम्पनीलाई अघि बढाएका थिए। समस्या नवीनता र व्यावसायिक अनुशासनबीचको सन्तुलन बिग्रनु थियो। ग्राहकले चाहेको उत्पादन, कम्पनीले राम्रोसँग बनाउन सक्ने क्षमता र त्यसबाट प्राप्त हुने आर्थिक प्रतिफललाई एउटै योजनामा जोड्न नसक्दा विस्तारले जोखिम बढायो।
संकटबाट पुनरुत्थानसम्म
सन् २००३ सम्म आइपुग्दा लेगो गम्भीर आर्थिक संकटमा फसिसकेको थियो। परम्परागत खेलौना बजारमा प्रतिस्पर्धा बढिरहेको थियो। बालबालिकाको मनोरञ्जनमा भिडियो गेम र विद्युतीय उपकरणको प्रभाव बढ्दै थियो। ठूला खुद्रा विक्रेताको बजार शक्ति विस्तार हुँदा मूल्यमा दबाब सिर्जना भएको थियो।
अर्कोतर्फ, लेगोको आफ्नै उत्पादन र व्यवसाय विस्तारको जटिलताले लागत बढाएको थियो।
कम्पनीले सन् २००३ मा करिब एक अर्ब डेनिस क्रोनरको घाटा बेहोरेको थियो। नगदको उपलब्धता घट्दै गएको थियो र कम्पनीको दीर्घकालीन सञ्चालनमाथि प्रश्न उठ्न थालेको थियो।
सन् २००४ मा पनि अवस्था सुध्रिएन। लेगोको वार्षिक प्रतिवेदनअनुसार कम्पनीको कुल खुद घाटा एक अर्ब ९३ करोड १० लाख डेनिस क्रोनर पुगेको थियो। त्यसमा पुनर्संरचना खर्च, सम्पत्तिको मूल्य घटाइएको लेखाङ्कन र लेगोल्यान्ड पार्कसँग सम्बन्धित गतिविधिको प्रभावसमेत समावेश थियो।
यो संकट केवल बिक्री घटेको परिणाम थिएन। कम्पनीको व्यवसाय सञ्चालन प्रणाली र विस्तारको रणनीतिबीच असन्तुलन पैदा भएको थियो। उत्पादनका धेरै प्रकार व्यवस्थापन गर्नुपर्ने, लागत नियन्त्रण गर्न कठिन हुने र ग्राहकले चाहेको उत्पादनको माग अनुमान गर्न नसक्ने अवस्थाले समस्या गहिर्याएको थियो।
सन् २००४ मा योर्न भिग नुडस्टोर्प कम्पनीको प्रमुख कार्यकारी अधिकृत बने। उनी परम्परागत अर्थमा खेलौना उद्योगका संस्थापक परिवारका सदस्य थिएनन्। उनले कम्पनीमा रणनीतिक विकाससम्बन्धी काम गरेका थिए र संकटको कारण बुझ्न तथा सुधारको बाटो तय गर्न महत्त्वपूर्ण भूमिका खेले।
नयाँ नेतृत्वले कम्पनीलाई विस्तारकै बाटोमा अघि बढाउनुको सट्टा आफ्नो मूल व्यवसायमा फर्काउने निर्णय गर्यो। लेगोका क्लासिक निर्माण ब्लक र तिनमा आधारित खेल प्रणालीलाई केन्द्रमा राखियो।
उत्पादनको लागत, ग्राहकको आवश्यकता, नाफा र नगद प्रवाहलाई प्राथमिकतामा राखियो।
कम्पनीले उत्पादनका प्रकार र प्रयोग हुने भागको सङ्ख्या घटाउने, उत्पादन प्रक्रियालाई सरल बनाउने र कम प्रतिफल दिने गतिविधिबाट बाहिरिने कदम चाल्यो। खर्च कटौती र संरचनागत परिवर्तन पनि गरियो।
सन् २००४ को वार्षिक प्रतिवेदनअनुसार खेलौना व्यवसायमा सन् २००३ को तुलनामा उत्पादन तथा सञ्चालन लागत २० प्रतिशत घटाउने लक्ष्यसहितका उपाय लागू गरिएको थियो। कम्पनीले करिब एक हजार कर्मचारी कटौती गर्ने निर्णयसमेत गरेको थियो।
लेगोल्यान्ड पार्कको स्वामित्वसमेत कम्पनीले पुनर्विचार गर्यो। सन् २००५ मा पार्कहरू मर्लिन इन्टरटेनमेन्ट्सलाई बिक्री गरिए। यसबाट लेगोले आफ्नो वित्तीय अवस्था सुधार्न र निर्माण ब्लकमा आधारित मूल व्यवसायमा ध्यान केन्द्रित गर्न खोज्यो।
यो निर्णय लोकप्रिय ब्रान्ड विस्तार गर्ने सोचबाट व्यावसायिक क्षमतासँग मेल खाने गतिविधिमा स्रोत केन्द्रित गर्ने दिशातर्फको परिवर्तन थियो।
पुनरुत्थानको अर्को महत्त्वपूर्ण पक्ष उत्पादन विकासको प्रक्रिया सुधार्नु थियो। लेगोले नयाँ उत्पादन ल्याउँदा त्यसको सिर्जनशील आकर्षण मात्र होइन, उत्पादन लागत, आपूर्ति प्रणाली, ग्राहकको रुचि र नाफाको सम्भावनासमेत विचार गर्न थाल्यो।
उत्पादनको विविधता कायम राख्दै व्यवस्थापन गर्न सकिने सीमाभित्र जटिलता राख्नु आवश्यक थियो।
कम्पनीले आफ्ना प्रयोगकर्तासँगको सम्बन्धलाई पनि महत्त्व दियो। लेगोका उत्साही वयस्क प्रयोगकर्ताले नयाँ संरचना बनाउने, पुराना सेटलाई फरक ढङ्गले प्रयोग गर्ने र उत्पादन सुधारका सम्भावना पहिचान गर्ने काम गरिरहेका थिए।
कम्पनीले यस्तो समुदायको अनुभव र प्रतिक्रियालाई उत्पादन विकासमा उपयोग गर्न थाल्यो।
यसले लेगोको सिर्जनशीलतालाई सीमित गरेन। बरु सिर्जनशील विचारलाई व्यावसायिक रूपमा सफल उत्पादनमा रूपान्तरण गर्न आवश्यक छनोट र समन्वय सुधार्यो। सन् २००४ मा घाटा एक अर्ब ९३ करोड १० लाख डेनिस क्रोनर पुगेको कम्पनीले सन् २००५ मा करअघि ७० करोड २० लाख डेनिस क्रोनर नाफा कमाएको थियो।
त्यस वर्षको नतिजामा अघिल्लो वर्षको पुनर्संरचना खर्च र सम्पत्तिको मूल्य घटाइएको लेखाङ्कनको प्रभाव पनि थियो। त्यसैले यो सुधारलाई एउटै कारणको परिणाम मान्न मिल्दैन। तर कम्पनीको वित्तीय अवस्था सुधार्ने दिशामा महत्त्वपूर्ण परिवर्तन भएको थियो।
लेगोको पुनरुत्थानले एउटा महत्त्वपूर्ण व्यावसायिक पाठ स्थापित गर्यो।
लोकप्रिय ब्रान्डसँग पर्याप्त ग्राहक आकर्षण भए पनि कमजोर लागत संरचना, जटिल उत्पादन प्रणाली र असफल विस्तारले कम्पनीलाई संकटमा पुर्याउन सक्छ। दीर्घकालीन सफलताका लागि नयाँ विचार मात्र होइन, तिनलाई प्रभावकारी ढङ्गले उत्पादन गर्ने, बिक्री गर्ने र नाफामा रूपान्तरण गर्ने क्षमता पनि आवश्यक हुन्छ।
खेलौनाभन्दा ठूलो बजार
आर्थिक संकटबाट बाहिरिएपछि लेगोले आफ्नो मूल उत्पादन प्रणालीलाई बलियो बनाउँदै नयाँ बजारमा विस्तार गर्ने रणनीति अघि बढायो। यसपटक कम्पनीले विस्तारलाई उत्पादनको मूल पहिचानसँग जोड्ने प्रयास गर्यो। लोकप्रिय चलचित्र, कथा र पात्रसँग सम्बन्धित सेटले नयाँ ग्राहक आकर्षित गर्न सहयोग पुर्याए।
स्टार वार्स र ह्यारी पोटरजस्ता फ्रेन्चाइजसँग सम्बन्धित उत्पादनले लेगोका ब्लकलाई परिचित काल्पनिक संसारसँग जोडिदिए।यस्तो सहकार्यले कम्पनीलाई आफ्नै पात्र र कथा विकास गर्ने जिम्मेवारी मात्र बोक्नुपरेन।
पहिले नै लोकप्रिय कथाका प्रशंसकलाई लेगोका उत्पादनतर्फ आकर्षित गर्न सकियो। तर यसमा इजाजतपत्र शुल्क, साझेदारसँगको सम्झौता र उत्पादनको समयसीमाजस्ता व्यावसायिक चुनौती पनि थिए। लेगोले यस्ता सहकार्यलाई आफ्नो निर्माण प्रणालीसँग जोडेर बजार विस्तार गर्ने बाटो रोज्यो।
कम्पनीले बालबालिकामा मात्र निर्भर बजार संरचनालाई पनि विस्तार गर्यो।
वयस्क प्रयोगकर्ताका लागि जटिल र विस्तृत सेट, वास्तुकलाका प्रसिद्ध भवनका प्रतिकृति तथा सङ्कलनयोग्य उत्पादन बजारमा आए। धेरै वयस्कका लागि लेगो बाल्यकालको सम्झना मात्र नभई सिर्जनशीलता, सङ्कलन र व्यक्तिगत रुचिसँग जोडिएको उत्पादन बन्यो।
डिजिटल माध्यमले पनि कम्पनीको विकासमा भूमिका खेल्यो। भिडियो गेम, चलचित्र, अनलाइन सामग्री र डिजिटल समुदायले लेगोको ब्रान्डलाई खेलौना प्रयोगको समयभन्दा बाहिर पनि सक्रिय राखे। तर डिजिटल विस्तार गर्दा कम्पनीले आफ्नो मूल उत्पादनसँगको सम्बन्ध जोगाउनुपर्ने आवश्यकता कायम रह्यो।
लेगोको विशिष्टता अझै पनि भौतिक टुक्रा जोडेर नयाँ संरचना बनाउन सकिने क्षमतामा आधारित छ।
लेगोको व्यावसायिक आकार अहिले यसको प्रारम्भिक कार्यशालाको तुलनामा अत्यन्त ठूलो छ।
कम्पनीले सन् २०२५ को वार्षिक प्रतिवेदनमा ८३ अर्ब ५३ करोड डेनिस क्रोनर आम्दानी, २२ अर्ब ३ करोड ४० लाख डेनिस क्रोनर सञ्चालन नाफा र १६ अर्ब ७१ करोड डेनिस क्रोनर खुद नाफा सार्वजनिक गरेको छ। सन् २०२४ को तुलनामा आम्दानी १२ प्रतिशत र सञ्चालन नाफा १८ प्रतिशत बढेको थियो।
कम्पनीका अनुसार उपभोक्ता बिक्री १६ प्रतिशत बढेको थियो र यसले खेलौना बजारको समग्र वृद्धिभन्दा तीव्र गति हासिल गरेको थियो।
यी तथ्याङ्कले लेगोको अहिलेको व्यावसायिक क्षमताको आकार देखाउँछन्। तर कम्पनीको मूल्याङ्कन आम्दानी र नाफामा मात्र सीमित छैन। उत्पादनको एकरूपता, पुराना र नयाँ सेटबीचको अनुकूलता, ब्रान्डको विश्वसनीयता र प्रयोगकर्ताको सिर्जनशील सहभागिताले पनि यसको बजार स्थिति बलियो बनाएका छन्।
लेगोले वातावरणीय प्रभाव घटाउने विषयमा समेत लगानी गरिरहेको छ। प्लास्टिकबाट बनेका खेलौना उत्पादन गर्ने कम्पनीका लागि कच्चा पदार्थको स्रोत, ऊर्जा खपत, उत्पादनबाट निस्कने फोहोर र उत्पादनको दीर्घकालीन प्रभाव महत्त्वपूर्ण चुनौती हुन्।
सन् २०२५ मा कम्पनीले आफ्ना ब्लक निर्माणका लागि खरिद गरेको सामग्रीमा नवीकरणीय तथा पुनर्चक्रित स्रोतबाट आएको सामग्रीको अनुमानित हिस्सा ५२ प्रतिशत पुगेको जनाएको छ, जुन अघिल्लो वर्ष ३३ प्रतिशत थियो।
यो तथ्य कम्पनीले खरिद गरेको सामग्रीको अनुमानित संरचनासँग सम्बन्धित हो, सम्पूर्ण लेगो ब्लक पुनर्चक्रित सामग्रीबाट बनेका छन् भन्ने अर्थमा लिनु हुँदैन।
लेगोको दीर्घकालीन चुनौती भनेको सिर्जनशीलता र व्यावसायिक अनुशासनबीचको सन्तुलन कायम राख्नु हो। नयाँ बजारमा विस्तार गर्नुपर्ने दबाब रहन्छ। ग्राहकको रुचि परिवर्तन भइरहन्छ। डिजिटल मनोरञ्जन र अन्य खेलौना कम्पनीसँगको प्रतिस्पर्धा पनि जारी छ।
अर्कोतर्फ, उत्पादनको गुणस्तर र टुक्राबीचको अनुकूलता कायम राख्नु ब्रान्डको मूल वाचा हो। कम्पनीले आफ्नो इतिहासमा एकपटक यही सन्तुलन गुमाउँदा गम्भीर संकट बेहोर्नुपरेको थियो।
पुनरुत्थानपछि भने नयाँ उत्पादनको खोजलाई मूल क्षमतासँग जोड्ने, ग्राहकको प्रतिक्रियालाई महत्त्व दिने र लागत संरचनामा नियन्त्रण राख्ने रणनीतिले सफलता दिलाएको छ। लेगोको यात्रा काठका सामान्य खेलौनाबाट सुरु भएको थियो।
आर्थिक मन्दीले व्यवसायको पुरानो ढाँचा बदल्न बाध्य बनायो। आगलागीले पुनर्निर्माणको परीक्षा लियो। प्लास्टिकका ब्लक र तिनको जोडाइसम्बन्धी प्रविधिले कम्पनीको भविष्य निर्माण गर्यो।
अत्यधिक विस्तारले आर्थिक संकट निम्त्यायो र मूल व्यवसायमा फर्किने निर्णयले पुनरुत्थानको बाटो खोल्यो।
यस यात्राको सबैभन्दा महत्त्वपूर्ण पक्ष एउटा चर्चित उत्पादनको सफलता मात्र होइन। ग्राहकले किन त्यो उत्पादन रोज्छन् भन्ने कुरा बुझ्नु, कम्पनीले राम्रोसँग गर्न सक्ने काममा स्रोत केन्द्रित गर्नु र गल्ती भएपछि रणनीति सुधार्न सक्नु हो।
लेगोले बालबालिकालाई साना टुक्राबाट ठूलो संरचना बनाउन सिकायो। आफ्नै व्यावसायिक यात्रामा पनि कम्पनीले यही सिद्धान्तको अर्को रूप देखाएको छ। सही आधार, उपयुक्त संयोजन र निरन्तर सुधारबाट सानो संरचना मात्र होइन, विश्वव्यापी व्यवसायसमेत निर्माण गर्न सकिन्छ।

