काठमाडौं। दसैँको नौरथा सुरु भएसँगै केराको माग ह्वात्तै बढेको छ। नौरथामा व्रत बस्ने र पूजाआजा गर्नेहरूको संख्या बढ्ने भएकाले केराको खपत दोब्बर भएको हो।
कपिलवस्तुको सदरमुकाम तौलिहवाका फलफूल व्यवसायीहरू अहिले केरा बेच्न भ्याइनभ्याईमा छन्।
तौलिहवाका फलफूल व्यवसायी सनिउल्लाह कुजाडाका अनुसार पहिले दैनिक २० देखि ३० क्विन्टल बिक्री हुने केरा अहिले दैनिक सय क्विन्टलभन्दा बढी बिक्री भइरहेको छ।
उनले भने, ‘अहिले दैनिक सय क्विन्टल बढी केरा बिक्री हुन्छ। माग बढी आइरहेकाले अझै बढ्ला जस्तो छ, जति बढे पनि पुर्याउने किसिमले प्रबन्ध मिलाएका छौँ।’ पहिले सातामा ३ पटक मात्र केरा ल्याउने गरिएकामा अहिले दैनिक ५ पटक ढुवानी भइरहेको छ।
अर्का व्यवसायी मन्सुरीले पनि बिक्रीमा उल्लेख्य वृद्धि भएको बताए। पहिले दैनिक ५ क्विन्टल केरा बेच्दै आएका उनले अहिले दैनिक २० देखि ४० क्विन्टलसम्म बिक्री गरिरहेका छन्। उनले भने, ‘आर्थिक मन्दीले बजारमा चहलपहल समेत कम छ। तर केराको बिक्री बढेको छ।’
भारतबाट केरा आयातमा रोक लगाइएपछि व्यवसायीहरूले नवलपरासीको त्रिवेणी क्षेत्रबाट केरा ल्याउने गरेका छन्। उनीहरूले प्रतिकिलो २५ रुपैयाँमा खरिद गरी ३० देखि ३५ रुपैयाँमा बिक्री गर्दै आएका छन्।
बजारमा बासुडी, भुसाबल र नौगडिया जातका केराहरू उपलब्ध छन्। व्रतालुहरूका अनुसार पूजाआजामा केरालाई शुद्ध फलका रूपमा लिइने हुनाले यसको प्रयोग बढेको हो।

