सल्यान। दसैँ मनाउन घर फर्किनेको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा यात्रा जोखिमपूर्ण बनेको छ।
सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, धुलो, हिलो, ढुङ्गा खस्ने र पहिरोको जोखिमले यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ।
सडक साँघुरिएका स्थानमा सवारीसाधनले पालो कुर्नुपर्ने हुँदा यात्रा अवधि लम्बिने गरेको छ। सल्यान, रुकुम र रोल्पालाई दाङसँग जोड्ने यो राजमार्ग यस क्षेत्रको प्रमुख यातायात सञ्जाल हो।
सडक डिभिजन कार्यालय दाङका अनुसार दाङको हरनेटी-राम्री तथा सल्यानको चोरखोला-कपुरकोट र सम्धीमोड-खारखोलालगायतका खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले चाडपर्वलाई ध्यानमा राखेर जोखिमयुक्त स्थानमा कटिङको काम रोक्न तथा सडकमा देखिएका सानातिना पहिरो र ढुङ्गा हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो।
सवारी चालक विष्णु योगीले निर्माणाधीन सडकका कारण सवारी चलाउन जोखिम बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “बाटोमा धेरै जोखिम छ। धुलो र हिलोले समस्या बनाइरहेको छ।
कतिबेला सुक्खा पहिरो आउँछ भन्ने ठेगान हुँदैन।” यात्रु शिशिर खड्काले सडक विस्तारको काम भइरहेका स्थानमा आवागमन कठिन भएको बताउनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गमा दैनिक करिब ३५० सवारीसाधन आवतजावत गर्छन्।
प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीले सम्भावित अवरोध हटाउन आवश्यक पर्ने जेसीबी तथा स्काभेटरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए।
पुराना ठेक्काअन्तर्गत करिब ९० प्रतिशत र नयाँ ठेक्काअन्तर्गत ५५ प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ।

