काठमाडौं: यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य अघिल्लो वर्षको तुलनामा निकै बढेको छ। गत वर्ष प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको मासु अहिले १७ सयदेखि १८ सय ५० रुपैयाँसम्म पुगेको छ। उपभोक्ताहरूले तयारी मासुका लागि प्रतिकिलो २ हजार रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन्।
उपभोक्ता अमृत तिवारीका अनुसार जिउँदो खसीको मूल्य पनि प्रतिकिलो ९ सयदेखि १ हजार रुपैयाँसम्म पुगेको छ। उनले भारतीय खसीको आयात नभएका कारण बजारमा मूल्य बढेको हुनसक्ने बताए। यता, व्यापारीहरूले भने आपूर्तिमा आएको कमी, ढुवानी लागतमा भएको वृद्धि र हालैको बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसी ल्याउन कठिनाइ भएकाले मूल्य बढेको दाबी गरेका छन्।
व्यापारी बैनसिंह मोक्तानले आफूले ल्याएका खसीहरू प्रतिकिलो ७ सय देखि ९ सय रुपैयाँको दरमा बिक्री गरिरहेको बताए। उनले बाढीका कारण सडक अवरुद्ध हुनु र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण पनि मूल्य प्रभावित भएको हुनसक्ने उल्लेख गरे। यद्यपि, बजारमा खसीको मूल्य आकासिए पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
दसैँको दुई साताको अवधिमा काठमाडौं उपत्यकामा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ। खसीको मासुको माग दसैँमा सबैभन्दा बढी हुने गर्दछ।

