काठमाडौं: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ मङ्गलटारमा विद्युत् चुहावट हुँदा दुईवटा घर जलेर नष्ट भएका छन्। गएराति करिब ९ बजे स्थानीय कृष्णकुमार राईको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो।
कृष्णकुमार हाल वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अधिराज्यमा हुनुहुन्छ। आगलागी हुँदा घरमा उहाँकी श्रीमती तारा र कान्छा छोरा मात्र थिए। ढुङ्गा र माटोले बनेको तथा जस्तापाताको छाना भएको दुईतले घरमा विद्युत् चुहावटका कारण आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
आगलागीमा परी कृष्णकुमारको दुईवटा घर पूर्ण रूपमा जलेका छन्। घटनामा घरभित्र रहेको नगद रु २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न र महत्वपूर्ण कागजात जलेर नष्ट भएको कृष्णकुमारका जेठा छोरा रम्बोहाङ राईले जानकारी दिनुभयो। जनप्रतिनिधि, स्थानीयवासी र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।

