काठमाडौं। दसैँको चहलपहल सकिएसँगै दाङका किसान यतिखेर खेतमा पाकेको धान भित्र्याउन व्यस्त भएका छन्।
चाडपर्व सकिएलगत्तै किसानहरू धान काट्ने, खल्यानसम्म ओसार्ने र थ्रेसरको प्रयोग गरी घरमा भित्र्याउने काममा जुटेका हुन्।
दंगीशरण गाउँपालिका-३ हेकुलीका भरत चौधरीले वर्षभरिको गुजाराका लागि धान मुख्य आधार भएकाले यसको व्यवस्थापनमा ध्यान केन्द्रित गरेको बताए।
उनले भने , “दसैँ सकियो, अब धान काट्ने, खल्यानमा ओसार्ने र थ्रेसर लगाएर घरमा भित्र्याउने काममा जुटेका छौँ। वर्षभरि खानका लागि धान राख्छौँ, बाँकी धान बेचेर घरखर्च चलाउँदै आएका छौँ।”
आगामी मंगलबारदेखि वर्षा हुने सम्भावना रहेको हल्ला चलेपछि किसानहरूलाई धान भित्र्याउने थप हतारो बढेको छ। काट्न बाँकी धान पानी पर्नुअघि नै सुरक्षित रूपमा भित्र्याउन किसानहरू परिवारका सदस्यहरूसँग मिलेर काम गरिरहेका छन्।
त्यसैगरी, हेकुलीका अर्का किसान रामबहादुर चौधरीले दसैँअघि हरियो रहेको धान चाडपर्व सकिनेबित्तिकै काट्ने अवस्थामा पुगेको बताए।
यस्तै, तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीका किसान जितराम चौधरीले दसैँ र धान भित्र्याउने समय एकै पटक परेकाले दुवै कामलाई सँगसँगै अघि बढाउनुपरेको उल्लेख गरे। उनले आफ्नो आधा धान भित्र्याइसकेको र बाँकी एक-दुई दिनभित्र सक्ने तयारी रहेको जानकारी दिए।
दाङका अधिकांश किसानका लागि धान मुख्य खाद्यान्न हो। उनीहरूले वर्षभरि खान पुग्ने धान राखेर बाँकी बिक्री गरी घरखर्च चलाउँदै आएका छन्।

