काठमाडौं। हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ। त्यसमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि निष्कासन हुनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थानीयले आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको चार लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ। यो सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते तोकिएको छ।
स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
