दमौली: तनहुँको आँबुखैरेनी गाउँपालिका-१ आँधीमूलका महिलाले यस वर्षको तिहारमा १० लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन् । व्यावसायिक फूलखेतीमा संलग्न ४५ जना महिलाले ४५ रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका छन् ।
गत वर्ष उनीहरूले ९ लाख रुपैयाँको फूल बिक्री गरेका थिए । अहिले खेतबारी पहेँलपुर भएपछि महिलाहरू फूल टिप्ने र भण्डारण गर्ने काममा व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार टिपिएका फूललाई ताजा राख्न चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । प्रतिकिलो ४ सय रुपैयाँसम्ममा फूल बिक्री हुने गरेको छ ।
स्थानीयस्तरमै उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको छ । दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले पहिलो चरणमा ५० किलो फूल खरिद गरिसकेकी छन् । सामूहिक प्रयासबाट सुरु गरिएको यो खेती महिलाका लागि आम्दानीको राम्रो स्रोत र आर्थिक आत्मनिर्भरताको आधार बनेको छ ।
आँबुखैरेनी गाउँपालिकाको कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार स्थानीय उत्पादनको माग बढेकाले बजारको समस्या छैन । तिहारमा घर, मठमन्दिर र सार्वजनिक स्थल सजाउन प्रयोग हुने सयपत्री फूलको माग उच्च हुने भएकाले सोहीअनुसार व्यवस्थापन भइरहेको छ ।
