काठमाडौं: दसैँ बिदापछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। बजार परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बन्द भएको छ।
दिनको सुरुवाती चरणमा बजारमा वृद्धि देखिए पनि अन्तिम प्रहरसम्म आइपुग्दा नेप्से रातो हुन पुगेको हो। आज बजारमा कुल ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा ३८ हजार ७८८ पटकको कारोबारबाट ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ९९ कम्पनीको मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ। साथै ६ कम्पनीको मूल्य स्थिर रहेको छ। आजको बजारमा बेनी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक १४.९९ प्रतिशतले नाफा कमाएका छन्। यता चिर्खाखोला जलविद्युतको सेयर मूल्य सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको शिवम सिमेन्ट्सको २० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
