काठमाडौं: हुम्लामा यस वर्षको दसैंमा चार करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। दसैंमा बलि दिने धार्मिक तथा सामाजिक मान्यताका कारण खसीबोकाको माग र व्यापारमा उल्लेख्य वृद्धि भएको हो।
बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले दसैंको समयमा झण्डै एक करोड रुपैयाँको व्यापार भएको जानकारी दिए। उनले २५ प्रतिशत व्यापार उधारोमा भए पनि यो वर्षको कारोबार हालसम्मकै उच्च रहेको बताए। पार्कीका अनुसार सुदूरपश्चिमका लिपुलेख, दार्चुला र अपी हिमाल क्षेत्रबाट खसीबोका ल्याएर बिक्री गरिएको थियो।
त्यस्तै, साढे तीन सय खसी बिक्री गरेका अर्का व्यापारी पाल्दन सुनारले पनि यस वर्षको व्यापार कीर्तिमानी रहेको उल्लेख गरे। स्थानीय बासिन्दाले २० हजारदेखि ३५ हजार रुपैयाँसम्मका खसी दसैंमा बलि चढाउनका लागि खरिद गरेका थिए।
चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयातमा रोक लगाएका कारण स्थानीय खसीबोकाको माग बढेको व्यापारीहरूको भनाइ छ। स्थानीय जयबहादुर शाहीले मूल्य वृद्धि भए पनि खसीको व्यापार नघटेको बताए। उनले भने, ‘यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भए पनि झनै बढेको छ।’
हुम्लाको खसीबोकाको बजार जिल्लामा मात्र सीमित नरही यसपटक पहिलो पटक चार ट्रक खसीबोका पोखरासम्म पठाइएको छ। उद्योग वाणिज्य सङ्घले पनि यस वर्ष दसैंमा खसीबोकाको व्यापार वृद्धि भएको पुष्टि गरेको छ।
