विराटनगर: कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षमा नै पर्यटकको आवागमन २२ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार प्रदेशका पर्यटकीय होटलहरूमा भित्रिने बाह्य पर्यटकको संख्या २१.८ प्रतिशतले घटेर ४७ हजार ४५७ मा सीमित भएको छ।
प्रतिवेदनका अनुसार भारतीय पर्यटकको संख्या १९.१ प्रतिशत र तेस्रो मुलुकका पर्यटकको संख्या ५३.८ प्रतिशतले घटेको छ। यद्यपि, चिनियाँ पर्यटकको संख्यामा भने ०.७ प्रतिशतको वृद्धि देखिएको छ। बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको संख्या पनि ७.६ प्रतिशतले घटेको छ। पर्यटक आगमनमा आएको गिरावटले होटलहरूको औसत अकुपेन्सी दर ३२ प्रतिशतमा झरेको छ भने होटल क्षेत्रका ६.५ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन्।
हवाई सेवा क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ। समीक्षा वर्षमा कोशी प्रदेशका विमानस्थलहरूबाट हुने कुल उडान संख्या ४.९ प्रतिशतले घटेर ५० हजार ९२६ मा सीमित भएको छ। हवाई यात्रुको संख्यामा पनि २.४ प्रतिशतले कमी आएको छ।
प्रतिवेदनले प्रचारप्रसारको कमी, पूर्वाधारको अभाव, सडक सञ्जालमा अवरोध र सुरक्षा संयन्त्रको अपर्याप्ततालाई मुख्य चुनौतीका रूपमा औँल्याएको छ। पाथीभरा जाने मेची राजमार्गको माईखोला खण्डमा पहिरोका कारण लामो समय यातायात अवरुद्ध हुनुले पनि पर्यटनमा असर पारेको उल्लेख छ।
कोशी प्रदेश सरकारले पर्यटन वर्षका लागि गत वर्ष ५ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेकोमा ४५.६० प्रतिशत मात्र खर्च गरेको थियो। प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजना अघि सारे पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। प्रदेश सरकारले आगामी २०८३ साउनदेखि २०८५ असारसम्म पुनः ‘कोशी प्रदेश भ्रमण वर्ष’ सञ्चालन गर्ने घोषणा गरेको छ।
