काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ का कारण शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। निर्देशन जारी भएपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २ हजार ६२९ विन्दुमा सीमित भएको छ। दिनभरको कारोबारमा ४ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बोर्डले धितोपत्र दलाल, मर्चेन्ट बैंकर, स्टक एक्सचेन्ज र ठूला इन्भेष्टमेन्ट कम्पनीहरूलाई ‘सूचक संस्था’का रूपमा परिभाषित गर्दै उनीहरूका लागि नयाँ दायित्वहरू तोकेको छ। अब यस्ता संस्थाहरूले जोखिममा आधारित आन्तरिक नीति लागू गर्नुपर्नेछ। ग्राहक पहिचान (केवाईसी) गर्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख प्रयोग गर्नुपर्ने र उच्च पदस्थ व्यक्ति (पेप्स) तथा उनीहरूका परिवारको कारोबारमा विशेष निगरानी राख्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशन अनुसार एकै दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भएमा सूचक संस्थाले १५ दिनभित्र नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाई (एफआआइयु) मा विवरण पठाउनुपर्नेछ। यस्तो कारोबारमा रकमको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने र अभिलेख राख्नुपर्ने व्यवस्था छ। नियम उल्लंघन गर्ने संस्था वा कर्मचारीलाई १० लाखदेखि ५ करोड रुपैयाँसम्म जरिवाना वा पदबाट हटाउनेसम्मको कारबाही हुनसक्ने बोर्डले जनाएको छ।
बजार विश्लेषक छोटेलाल रौनियारका अनुसार ठूलो कारोबार गर्दा सम्पत्तिको छानबिन हुने वा कर छलीको आरोप लाग्ने हो कि भन्ने संशयले लगानीकर्तामा मनोवैज्ञानिक त्रास पैदा भएको छ। रौनियारले भने, ‘नयाँ व्यवस्थाको उद्देश्य र प्रक्रियालाई स्पष्ट रूपमा नबुझ्दा बजारमा अनावश्यक हल्ला फैलिएको छ।’ यद्यपि, बोर्डले तोकिएको सीमाभन्दा बढीको कारोबार हुँदैमा त्यो स्वतः गैरकानुनी नहुने र यो व्यवस्था केवल विवरण अद्यावधिक गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारेको छ।
