काठमाडौं: हङकङको शेक क्वु चाउ टापुनजिक रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टमा सोमबार आगलागी भएको छ। समुद्री क्षेत्रमा निर्माण गरिएको कृत्रिम टापुमा अवस्थित एकीकृत फोहोर व्यवस्थापन केन्द्रको पहिलो चरण (आईपार्क १) मा दिउँसो १२:४३ बजे आगो लागेको हो। आगलागीका कारण ९३० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने एक कर्मचारी बिरामी परेका छन्।
अग्नि सेवा विभागका अनुसार दिउँसो १:२४ बजे आगलागीलाई ‘नम्बर ३’ तहको विपद् घोषणा गरिएको थियो। हङकङमा पाँच तहको विपद् चेतावनी प्रणाली छ। आगो नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको थियो। विभागका अनुसार दिउँसो ३:४७ बजे आगो आंशिक रूपमा नियन्त्रणमा आएको थियो भने ४:४५ बजेसम्म अधिकांश आगो निभाइएको थियो।
गर्मीका कारण अस्वस्थ भएका एक कर्मचारीलाई उपचारका लागि चाईवानस्थित पामेला युड नेदरसोल इस्टर्न अस्पताल लगिएको छ। आगलागी निर्माणाधीन १४ तले भवनमा भएको हो, जहाँ निर्माण सामग्रीहरू राखिएका थिए। प्रारम्भिक अनुसन्धानले आगो भवनको छतबाट सुरु भएर तल्लो तलाहरूमा फैलिएको देखाएको छ। यद्यपि, आगलागीको ठोस कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आईपार्क-१ हङकङको पहिलो ठूलो क्षमताको फोहोरबाट ऊर्जा निकाल्ने प्लान्ट हो। करिब १२ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्लान्टले दैनिक तीन हजार टनसम्म फोहोर प्रशोधन गर्न सक्छ। ३१ अर्ब ३० करोड हङकङ डलर लागतमा निर्माण गरिएको यो आयोजना गत वर्ष डिसेम्बरदेखि सञ्चालनमा आएको थियो। सन् २०३५ सम्ममा ल्यान्डफिलमाथिको निर्भरता अन्त्य गर्ने सरकारको लक्ष्यअनुसार यो प्लान्ट निर्माण गरिएको हो।
