एजेन्सी । अमेरिकी संसद्मा आफ्नो प्रभाव विस्तार गर्न र आफूअनुकूल कानुन निर्माण गराउन क्रिप्टोकरेन्सी उद्योगले सन् २०२६ को मध्यावधि निर्वाचनमा १७ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालपछि पनि क्रिप्टोमैत्री सांसदहरूको प्रभाव कायम राख्ने रणनीतिअनुसार उद्योगले १०० भन्दा बढी चुनावी प्रतिस्पर्धामा ठूलो रकम परिचालन गरेको हो।
रोयटर्सको विश्लेषण र राजनीतिक रणनीतिकारहरूसँगको कुराकानीअनुसार, करिब २७ खर्ब ५० अर्ब डलर बजार पुँजीकरण रहेको क्रिप्टो उद्योग तथा यससँग जोडिएका अर्बपतिहरूले आफ्ना समर्थक उम्मेदवारलाई जिताउन र आलोचकहरूलाई पराजित गर्न आक्रामक रूपमा पैसा खर्च गरिरहेका छन्।
यस अभियानको नेतृत्व क्रिप्टो क्षेत्रको प्रमुख सुपर पोलिटिकल एक्सन कमिटी ‘फेयरशेक’ ले गरिरहेको छ। यसले सन् २०२६ का प्राथमिक तथा विशेष निर्वाचनमा समर्थन गरेका ५८ उम्मेदवारमध्ये ५३ जना विजयी भएका छन्। ती उम्मेदवार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
अक्टोबर २० सम्ममा फेयरशेक र यससँग सम्बद्ध राजनीतिक समितिहरूले १५ करोड डलरभन्दा बढी खर्च गरिसकेका छन्। अन्य क्रिप्टो समूहले पनि करिब २ करोड ५० लाख डलर परिचालन गरेका छन्। यस अभियानमा क्वाइनबेस, रिपल र भेन्चर क्यापिटल कम्पनी एन्ड्रीसेन होरोविट्जजस्ता ठूला संस्थाले आर्थिक सहयोग गरेका छन्।
उद्योगको उद्देश्य मतदातालाई क्रिप्टोकरेन्सीबारे जानकारी दिनु मात्र नभई नीति निर्माण गर्ने सांसदहरूसँग दीर्घकालीन सम्बन्ध बनाउनु रहेको छ। ट्रम्प परिवारले सन् २०२४ को मध्यदेखि सन् २०२६ अप्रिलसम्म क्रिप्टो व्यवसायबाट करिब २ अर्ब ३० करोड डलर आम्दानी गरेको अनुसन्धानले देखाएको छ। तर, सन् २०२९ पछि ह्वाइट हाउसमा आउने नयाँ राष्ट्रपति ट्रम्पजस्तै क्रिप्टोमैत्री नहुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्योगले संसद्मा आफ्नो प्रभाव सुरक्षित गर्न खोजेको हो।
अमेरिकी गैरसरकारी संस्था पब्लिक सिटिजनले पनि सन् २०२६ को संघीय निर्वाचनमा क्रिप्टो उद्योगलाई सबैभन्दा ठूलो कर्पोरेट खर्चकर्ताका रूपमा उल्लेख गरेको छ। उद्योगसँग सम्बद्ध राजनीतिक समूहहरूले विपक्षी उम्मेदवारलाई कमजोर पार्न करोडौँ डलरका विज्ञापन सञ्चालन गरिरहेका छन्।
यस्ता विज्ञापनमा क्रिप्टोकरेन्सीको नामसमेत उल्लेख नगरी कर, इन्धन र आप्रवासनजस्ता मतदाताको चासोका विषय उठाएर विपक्षी उम्मेदवारमाथि प्रहार गर्ने गरिएको छ। यस रणनीतिले क्रिप्टो उद्योगको प्रत्यक्ष छवि प्रस्तुत नगरी मतदाताको धारणा प्रभावित पार्ने प्रयास भइरहेको देखाउँछ।
उद्योगको खर्चको ठूलो हिस्सा ओहायोका डेमोक्रेट नेता शेरोड ब्राउनविरुद्ध केन्द्रित छ। सिनेटमा पुनः निर्वाचित हुन खोजिरहेका ब्राउन सिनेट बैंकिङ समितिका पूर्वअध्यक्ष हुन् र क्रिप्टो उद्योगका आलोचकका रूपमा चिनिन्छन्। उनीविरुद्ध उद्योगले ६ करोड ८० लाख डलरभन्दा बढी खर्च गरिसकेको छ। यसले उक्त निर्वाचनलाई अत्यधिक खर्चिलो प्रतिस्पर्धामध्ये एक बनाएको छ।
इलिनोइमा लेफ्टिनेन्ट गभर्नर जुलियाना स्ट्य्राटन र कंग्रेसका उम्मेदवार ला शन फोर्डविरुद्ध पनि करोडौँ डलरका नकारात्मक विज्ञापन सञ्चालन गरिएको छ। उद्योगले आफ्ना समर्थक उम्मेदवारलाई सहयोग गर्ने मात्र नभई नियमन कडा बनाउन खोज्ने आलोचकहरूलाई चुनावी रूपमा कमजोर पार्ने रणनीति अपनाएको छ।
सन् २०२२ मा क्रिप्टो कारोबार कम्पनी एफटीएक्स पतन भएपछि अमेरिकी धितोपत्र तथा विनिमय आयोगले उद्योगमाथि नियामकीय निगरानी र कारबाही तीव्र बनाएको थियो। त्यसपछि राजनीतिक पहुँच विस्तारमा सक्रिय भएको उद्योगले सन् २०२५ मा स्टेबलक्वाइनसम्बन्धी ‘जिनियस एक्ट’ पारित गराउन दुवै दलको समर्थन जुटाउन सफल भएको विवरणमा उल्लेख छ।
अब उद्योगको मुख्य लक्ष्य ‘क्लारिटी एक्ट’ पारित गराउनु हो। यो विधेयकले क्रिप्टो सम्पत्तिको नियमनमा अमेरिकी धितोपत्र तथा विनिमय आयोगको भूमिकालाई सीमित गर्दै तुलनात्मक रूपमा लचक मानिने कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनको अधिकार विस्तार गर्ने प्रस्ताव गरेको छ।
तर, ट्रम्प परिवारले आफ्नो क्रिप्टो सम्पत्तिबाट अलग हुनुपर्ने नैतिक प्रश्न उठाउँदै सिनेटका डेमोक्रेटहरूले विधेयक अघि बढाउन अवरोध गरेका छन्। यसपछि फेयरशेकले यसपटक सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई मात्र आर्थिक सहयोग गर्ने निर्णय गरेको विवरणमा उल्लेख छ।
क्रिप्टो उद्योगका रणनीतिकारहरू आगामी संसद्मा आफ्नो पक्षमा कानुनी व्यवस्था बनाउन चाहन्छन्। त्यसका लागि निर्वाचन खर्चलाई राजनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ। ठूलो रकमको यो अभियानले अमेरिकी निर्वाचनमा कर्पोरेट पैसा, नियमन र राजनीतिक शक्तिबीचको सम्बन्धलाई फेरि बहसको केन्द्रमा ल्याएको छ।
