काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा २४ क्यारेट शुद्ध सुनबाट बनेको पदमार्ग निर्माण हुँदैछ। सन् २०२६ को अन्त्यअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यो पदमार्ग विश्वकै पहिलो र सबैभन्दा लामो सुनको पदमार्ग हुने दाबी गरिएको छ। यसले पर्यटकलाई सुनको बाटोमा हिँड्ने अनौठो अनुभव दिनुका साथै दुबईलाई सुन व्यापार र विलासी पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
‘गल्फ टुडे’ का अनुसार दुबईको ऐतिहासिक व्यापारिक क्षेत्र डेइरास्थित ‘दुबई गोल्ड डिस्ट्रिक्ट’ मा यो पदमार्ग निर्माण हुन लागेको हो। डिस्ट्रिक्टका व्यावसायिक क्षेत्रका वरिष्ठ निर्देशक रसिद अल हरमुदीले आगामी दुई महिनाभित्र पदमार्ग आगन्तुकका लागि खुला गर्ने जानकारी दिएका छन्।
पर्यटकलाई वास्तविक सुनको पदमार्गमा हिँड्ने अनुभव दिलाउनु र सुन तथा गरगहनाको अन्तर्राष्ट्रिय व्यापारमा दुबईको पहिचान थप बलियो बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ।
यो घोषणा दुबईले सुनका गहनासम्बन्धी अर्को विश्व कीर्तिमान मनाइरहेका बेला गरिएको हो। ‘जोयालुक्कास ज्वेलरी’ ले तयार पारेको परम्परागत भारतीय झुम्काले विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा गह्रौँ सुनको झुम्काको कीर्तिमान बनाउँदै गिनिज वर्ल्ड रेकर्डका दुई उपाधि प्राप्त गरेको छ।
प्रस्तावित सुनको पदमार्ग दुबई गोल्ड डिस्ट्रिक्टको बृहत् योजनाको हिस्सा हो। यहाँ सुन तथा गरगहनाको थोक र खुद्रा व्यापार, लगानी र पर्यटकीय गतिविधिलाई एउटै क्षेत्रमा समेट्ने योजना बनाइएको छ। सन् २०२६ को जनवरीमा औपचारिक रूपमा सुरु गरिएको यस डिस्ट्रिक्टमा सुन, गरगहना, अत्तर, सौन्दर्य सामग्री र जीवनशैलीसम्बन्धी वस्तु बिक्री गर्ने एक हजारभन्दा बढी खुद्रा व्यवसाय आबद्ध भइसकेका छन्।
यस क्षेत्रमा मध्यपूर्वकै सबैभन्दा ठूलो सुन तथा गरगहना प्रदर्शनी आयोजना गर्ने योजना पनि अघि सारिएको छ। त्यसका लागि कार्यालय र व्यापारिक पूर्वाधार विस्तारको काम भइरहेको जनाइएको छ।
निर्देशक अल हरमुदीका अनुसार चालु वर्षको सुरुवातदेखि यस क्षेत्रमा थोक सुन व्यापारसम्बन्धी कार्यालयको सङ्ख्या २० प्रतिशतले बढेको छ। सुन, हिरा, जवाहरात र विलासी घडी बिक्री गर्ने नयाँ पसलको सङ्ख्यामा पनि १५ प्रतिशत वृद्धि भएको छ।
आगामी वर्ष थप १० देखि २० प्रतिशत नयाँ कम्पनी यस क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। २४ क्यारेट सुनको पदमार्ग सञ्चालनमा आएपछि विश्वभरका पर्यटक आकर्षित हुने र दुबईको सुन व्यापारसँगै पर्यटन व्यवसायले समेत थप गति लिने अपेक्षा गरिएको छ।
