एजेन्सी । जापान र बेलायतपछि फ्रान्सले पनि आफ्ना नागरिकलाई कुनै पनि ठूलो विपद् वा संकटको सामना गर्न कम्तीमा ७२ घण्टासम्म पुग्ने आपतकालीन सामग्री तयार राख्न आग्रह गरेको छ।
फ्रान्सेली सरकारले बाढी, आँधी, डढेलो, भूकम्प, महामारी, औद्योगिक दुर्घटना तथा साइबर आक्रमणजस्ता सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो तयारी गर्न भनेको हो। विपद्पछि बिजुली, खानेपानी, ग्यास र यातायात सेवा अवरुद्ध हुन सक्ने तथा उद्धार टोली तत्काल पुग्न नसक्ने भएकाले सुरुवाती तीन दिन आफैंले व्यवस्थापन गर्नुपर्ने सरकारको भनाइ छ।
सरकारले तयार पारेको निर्देशिकाअनुसार आपतकालीन झोलामा पिउने पानी, लामो समयसम्म नबिग्रिने खानेकुरा, प्राथमिक उपचार सामग्री र नियमित सेवन गर्नुपर्ने औषधि राख्नुपर्छ। प्रतिव्यक्ति ६ लिटर पानीको व्यवस्था गर्न पनि सुझाव दिइएको छ।
त्यस्तै, अतिरिक्त ब्याट्रीसहितको रेडियो र टर्चलाइट, फोन चार्जर, न्यानो कपडा, कम्बल, मैनबत्ती, लाइटर वा सलाई तथा क्यान खोल्ने उपकरण राख्न भनिएको छ। शिशु वा पाल्तु जनावर भएका परिवारले उनीहरूका लागि आवश्यक खाना र सामग्रीसमेत छुट्टै व्यवस्था गर्नुपर्नेछ।
आपतकालीन अवस्थामा एटीएम तथा बैंकिङ सेवा अवरुद्ध हुन सक्ने भएकाले केही नगद रकम साथमा राख्न पनि सुझाव दिइएको छ। परिचयपत्र, नागरिकता, औषधिको विवरण र अन्य महत्त्वपूर्ण कागजातका प्रतिलिपि पानी नछिर्ने फोल्डरमा सुरक्षित राख्नुपर्नेछ। चस्मा प्रयोग गर्नेले अतिरिक्त चस्मा र घर तथा गाडीका अतिरिक्त चाबीसमेत राख्न सक्नेछन्।
फ्रान्सेली सरकारले आपतकालीन झोला सजिलै भेटिने ठाउँमा राख्न र कम्तीमा वर्षमा एकपटक त्यसमा रहेका खानेकुरा तथा औषधिको म्याद जाँच गर्न आग्रह गरेको छ। प्रयोग भएका सामग्री पुनः थप्न र बिग्रिएका ब्याट्री फेर्न पनि सुझाव दिइएको छ।
सरकारले यस्तो तयारीको उद्देश्य नागरिकमा त्रास फैलाउनु नभई संकटका बेला सुरक्षित रहन र उद्धार तथा सहायता सेवा नपुग्दासम्म आत्मनिर्भर बन्न सक्षम बनाउनु रहेको स्पष्ट पारेको छ।
