एजेन्सी । प्रविधि कम्पनी गुगलले बैंक तथा वित्तीय संस्थाका क्रिप्टोकरेन्सी र डिजिटल सम्पत्तिको सुरक्षा गर्न ‘गुगल मल्टी–पार्टी कम्प्युटेसन’ (एमपीसी) प्रणाली सार्वजनिक गरेको छ । ब्लकचेन कारोबारलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको यो प्रणालीले डिजिटल सम्पत्तिको सुरक्षासम्बन्धी बजारमा गुगलको प्रवेशलाई संकेत गरेको छ ।
न्युयोर्कमा बुधबार आयोजित पहिलो ‘डिजिटल एसेट्स सिम्पोजियम’ मा गुगलले नयाँ प्रणाली प्रदर्शन गरेको हो । हाल केही ठूला अन्तर्राष्ट्रिय वित्तीय संस्थाले यसको आन्तरिक परीक्षण गरिरहेका छन् । कम्पनीले सन् २०२७ को सुरुआतसम्ममा यसलाई व्यावसायिक प्रयोगका लागि उपलब्ध गराउने योजना बनाएको छ ।
गुगलको माउ कम्पनी अल्फाबेटले समेत इथरियम र सोलाना नेटवर्कमा रहेका आफ्ना डिजिटल सम्पत्तिको सुरक्षाका लागि यो प्रविधि प्रयोग गर्न थालेको जनाइएको छ ।
पछिल्ला वर्षमा बैंक तथा वित्तीय संस्थाले सम्पत्ति टोकनाइजेसन र ब्लकचेनमा आधारित रकम स्थानान्तरणलाई विस्तार गर्दै आएका छन् । तर, साइबर आक्रमण र डिजिटल ठगीका घटना बढ्दा सम्पत्तिको सुरक्षा प्रमुख चुनौती बनेको छ । ब्लकचेन कारोबार सामान्यतया उल्टाउन नसकिने भएकाले गोप्य सुरक्षा कोड अर्थात् प्राइभेट की चोरी भएमा वा अनधिकृत कारोबार भएमा ठूलो आर्थिक क्षति हुन सक्छ ।
ब्लकचेन अनुसन्धान संस्था चेनालिसिसका अनुसार सन् २०२४ मा चोरी भएका कुल क्रिप्टो सम्पत्तिमध्ये ४३.८ प्रतिशत घटना प्राइभेट कीमा भएको सम्झौताका कारण भएका थिए । त्यस्तै, डेफीलामाको तथ्यांकअनुसार सन् २०२६ को जुनसम्म ब्लकचेन ह्याकिङबाट १६ अर्ब ६९ करोड अमेरिकी डलर बराबरको सम्पत्ति नोक्सान भएको छ । यसमध्ये करिब ४० प्रतिशत हिस्सा प्राइभेट की चोरीसँग सम्बन्धित रहेको जनाइएको छ ।
गुगलको नयाँ एमपीसी प्रणालीले सुरक्षा कीलाई एउटै स्थानमा राख्नुको सट्टा क्रिप्टोग्राफिक अंशमा विभाजन गरेर विभिन्न प्रणालीमा भण्डारण गर्छ । उदाहरणका लागि, बैंकले आफ्नो सुरक्षा कीका अंश गुगल क्लाउड, आफ्नै आन्तरिक सर्भर र अर्को क्लाउड सेवा प्रदायकमा छुट्टाछुट्टै राख्न सक्छ । यसले कुनै एक प्रणालीमा अनधिकृत पहुँच भए पनि सम्पूर्ण सुरक्षा की एकैपटक हात लाग्ने जोखिम घटाउने उद्देश्य राखेको छ ।
कारोबार स्वीकृत गर्नुअघि गुगलको ‘कन्फिडेन्सियल स्पेस’ प्रविधिले पूर्वनिर्धारित सुरक्षा मापदण्ड जाँच गर्छ । यसमा कारोबारको रकम सीमा, अधिकृत वालेटको ठेगाना र विभिन्न विभागबाट आवश्यक स्वीकृति प्राप्त भए नभएको जस्ता पक्ष समावेश गर्न सकिन्छ ।
कम्पनीका अनुसार प्रणालीमा क्रिप्टोग्राफिक कीमाथिको नियन्त्रण सम्बन्धित बैंककै रहनेछ । गुगलले समेत ती विवरण खुला रूपमा हेर्न नसक्ने गरी प्रणाली तयार गरिएको छ । यसले बैंक तथा वित्तीय संस्थालाई डिजिटल सम्पत्तिको सुरक्षा व्यवस्थापनमा थप नियन्त्रण र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कृत्रिम बौद्धिकतामार्फत हुने ठगी र भविष्यमा क्वान्टम कम्प्युटिङका कारण उत्पन्न हुन सक्ने क्रिप्टोग्राफीसम्बन्धी जोखिमलाई ध्यानमा राखेर प्रणाली विकास गरिएको गुगलले जनाएको छ ।
यो सेवाले डिजिटल सम्पत्ति सुरक्षा बजारमा फायरब्लक्स, फोर्डेफी र बिटगो जस्ता स्थापित कम्पनीसँग गुगलको प्रतिस्पर्धा बढाउनेछ । आफ्नै क्लाउड पूर्वाधार र विश्वका ठूला बैंकहरूसँगको व्यावसायिक सम्बन्धका कारण गुगलले संस्थागत ग्राहक आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ ।
डिजिटल सम्पत्तिको कारोबार बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाका लागि सुरक्षित भण्डारण, कारोबार प्रमाणीकरण र गोप्य कीको व्यवस्थापन झन् महत्त्वपूर्ण बन्दै गएको छ । गुगलको नयाँ प्रणालीले यी चुनौती सम्बोधन गर्न कति प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा यसको व्यावसायिक प्रयोग र सुरक्षा परीक्षणका नतिजाले निर्धारण गर्नेछ ।
