काठमाडौं: बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि लमजुङका किसानलाई पाकेको धानबाली भित्र्याउन चटारो परेको छ। मौसम पूर्वानुमान महाशाखाले वर्षाको प्रक्षेपण गरेसँगै किसानहरू पाकेको धान जोगाउन व्यस्त बनेका छन्।
मध्यनेपाल, दोर्दी, राइनास, मर्स्याङ्दी र सुन्दरबजार क्षेत्रका किसानहरू खेतमा पाकेको धान काट्ने र थन्क्याउने काममा जुटेका छन्। कृषि विकास कार्यालय लमजुङका अनुसार रैथाने जातको तुलनामा उन्नत र वर्णशङ्कर जातका धान छिटो पाक्ने भएकाले अहिले नै भित्र्याउनुपर्ने अवस्था आएको हो। कार्यालयले वर्षाको जोखिमलाई मध्यनजर गर्दै बिहीबारसम्म धान थन्क्याउन र शुक्रबार तथा शनिबार धान नकाट्न किसानलाई सुझाव दिएको छ।
मध्यनेपाल-६, भोर्लेटारका किसान राम गुरुङले पाकेको बाली वर्षाले बिग्रिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “खेत रोप्नै गाह्रो। रोपेपछि फलेको फसल भित्र्याउन उस्तै गाह्रो।”
कृषि विकास कार्यालयका अनुसार लमजुङमा १६ हजार ४६३ हेक्टरमा धानखेती हुने गरेको छ, जसमध्ये १५ हजार ५५२ हेक्टरमा बर्खे धान लगाइन्छ। जिल्लाको ९० प्रतिशतभन्दा बढी क्षेत्रमा उन्नत जातको धानखेती हुँदै आएको छ। यहाँ रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल र सुक्खा जातका धानका साथै यूएस ३१२, गोरखनाथ, चाँदनी र पृथ्वीलगायतका वर्णशङ्कर जातका धान लगाइने गरिएको छ।
