काठमाडौं: शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा बन्द भएको छ। परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ।
शुक्रबार ३४८ वटा कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटकको खरिदबिक्रीबाट ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०२ कम्पनीको मूल्य बढेको छ। ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा विकास बैंक समूहमा सर्वाधिक १.६१ प्रतिशत वृद्धि भएको छ भने बैंकिङसहित ८ वटा सूचक घटेका छन्। कम्पनीगत रूपमा बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ७०९.७० रुपैयाँ पुगेको छ। त्यस्तै स्वाभिमान लघुवित्तको मूल्य १२.११ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३८ करोड ४८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसैगरी शिवम सिमेन्टको ३० करोड ३९ लाख, घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख र ग्रीन भेञ्चर्सको २६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
