काठमाडौं । हाइड्रो भिलेज लिमिटेडले निर्माण गरिरहेको ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको भौतिक प्रगति करिब १६ प्रतिशतमा सीमित भएको छ । निर्धारित व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) आगामी अगस्टमा समाप्त हुने भए पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन । कम्पनीले आरसीओडी थपका लागि अनुरोध गरेको जनाएको छ ।
आयोजनाको ८.१ किलोमिटर लामो सुरुङ निर्माणमा भने पछिल्लो पाँच महिनामा करिब २१ प्रतिशत प्रगति भएको छ । सुरुमा ५७.३ मेगावाट क्षमतामा डिजाइन गरिएको आयोजनालाई पछि बढाएर ६५ मेगावाट पुर्याइएको हो ।
नदी प्रवाहमा आधारित यो आयोजना क्यू ४३.२ प्रतिशतमा विकास भइरहेको छ । प्रारम्भिक ५७.३ मेगावाट क्षमताका लागि विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । सम्झौताअनुसार आयोजनाको ऊर्जा मिश्रणमा ६ महिना सुक्खायाम र ६ महिना वर्षायामको विद्युत रहनेछ । सुक्खा ऊर्जाको हिस्सा करिब ३१ प्रतिशत छ । थपिएको क्षमताका लागि पनि लगभग उस्तै ऊर्जा मिश्रणसहित पीपीए अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ ।
क्षमता विस्तारसँगै आयोजनाको लागत पनि बढेको छ । सुरुमा ५७.३ मेगावाटका लागि अनुमानित १० अर्ब ७४ करोड रुपैयाँ रहेको लागत बढेर ६५ मेगावाटका लागि करिब १२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गर्ने योजना छ ।
आयोजनाको विद्युत् निकासीका लागि आवश्यक दण्डखेत सबस्टेसन तथा दण्डखेत–राहुघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले थप जोखिम सिर्जना गरेको छ । व्यावसायिक उत्पादन सुरु हुनुअघि यी प्रसारण संरचना सम्पन्न हुनु आयोजनाको सञ्चालन र वित्तीय स्थायित्वका लागि महत्वपूर्ण मानिएको छ ।
आयोजनाको आफ्नै निर्माण प्रगतिभन्दा प्रसारण संरचनाको प्रगति केही बढी रहेको जनाइएको छ । यस आधारमा आयोजनाको व्यावसायिक उत्पादन सुरु हुनुअघि प्रसारण संरचना सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यसैबीच, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको ऋण सुविधाको क्रेडिट रेटिङलाई पुनर्पुष्टि गरेको छ । कम्पनीको दीर्घकालीन कर्जा सीमाका लागि एलबीबी माइनस र अल्पकालीन कर्जा सीमाका लागि एफोर रेटिङलाई निरन्तरता दिइएको छ ।
कम्पनीको दीर्घकालीन कर्जा सीमा ८ अर्ब ५ करोड ७० लाख रुपैयाँबाट बढाएर ९ अर्ब ७५ करोड रुपैयाँ पुर्याइएको छ । त्यस्तै, अल्पकालीन कर्जा सीमा ७ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ कायम गरिएको छ ।
जलविद्युत क्षेत्रमा लामो अनुभव भएका नयाँ प्रवर्द्धकहरूको प्रवेशले आयोजना विकास तथा सञ्चालनमा सहयोग पुगेको इक्रा नेपालले जनाएको छ । मुख्य प्रवर्द्धकहरूमा मोहनविक्रम कार्की र भोगेन्द्रकुमार गुरागाईंलगायत छन् । उनीहरू सुपर माई, सुपर काबेली र मध्य सोलुखोला जस्ता जलविद्युत आयोजनासँग आबद्ध छन् ।
यद्यपि, आयोजनाको भौतिक प्रगति, भौगर्भिक जटिलता, जलवायुजन्य जोखिम तथा दण्डखेत सबस्टेसन र प्रसारण लाइन निर्माणको गतिलाई आगामी दिनमा महत्वपूर्ण चुनौतीका रूपमा इक्रा नेपालले औंल्याएको छ ।
