काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गर्ने वार्षिक १३ लाखभन्दा बढी आन्तरिक तथा विदेशी यात्रुले विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडमार्फत यातायात सेवा लिँदै आएका छन् ।
लिमिटेडले विमानस्थलमा ओर्लिने विदेशी पर्यटक तथा आन्तरिक हवाई यात्रुलाई विमानस्थलबाट उनीहरूको प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाका अनुसार कम्पनीले दैनिक करिब चार हजारभन्दा बढी यात्रुलाई दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आएको छ । हाल २०८ वटा पर्यटकीय सवारीसाधनमार्फत सेवा सञ्चालन भइरहेको उनले बताए ।
नेपालको पर्यटन विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सिम्खडाले विमानस्थलमा ओर्लिने यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यातायात उपलब्ध गराउन कम्पनी सक्रिय रहेको बताए ।
पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप प्रभावकारी र सुरक्षित बनाउन निरन्तर काम भइरहेको उनको भनाइ छ ।
यद्यपि, पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रूपमा भाडामा यात्रु ओसारपसार गर्दा व्यवसायी समस्यामा परेको सिम्खडाले बताए । यसले कानुनी प्रक्रिया पूरा गरेर यातायात सेवा सञ्चालन गरिरहेका व्यवसायीलाई प्रतिस्पर्धामा चुनौती थपेको उनको भनाइ छ ।
विसं २०६७ मा स्थापना भएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले हाल ४५० भन्दा बढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।
