काठमाडौं: परम्परागत शैलीमा फोहोरमै रमाउने जनावरका रूपमा हेरिने बङ्गुरपालनको पहिचान फेरिएको छ। सामाजिक अपहेलना र परम्परागत घेरा तोड्दै यो व्यवसाय अहिले व्यवस्थित खोर, वैज्ञानिक दाना र आधुनिक प्रविधिसँग जोडिएर आकर्षक उद्यमका रूपमा विकास भइरहेको छ। पशु प्राविधिक उद्धवप्रसाद सापकोटाका अनुसार सन्तुलित आहारा र नियमित स्वास्थ्य परीक्षणले गर्दा उपभोक्तामा बङ्गुरको मासुप्रतिको आकर्षण बढेको छ।
यस व्यवसायमा युवा पुस्ताको आकर्षण पनि बढेको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि विदेशी व्यवसायीसम्मले यसमा लगानी गरिरहेका छन्। व्यावसायिक किसान दिलीप हमालका अनुसार पोल्ट्री व्यवसायमा अपनाइने जस्तै जैविक सुरक्षा र सरसफाइका उपाय अपनाउन थालेपछि बङ्गुरपालनको स्वरूप नै बदलिएको छ। किसानले मासुका अतिरिक्त पाठापाठी बिक्रीबाट समेत राम्रो आम्दानी गरिरहेका छन्। यद्यपि, अफ्रिकन स्वाइन फिभर र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरूको जोखिम रहेकाले नियमित खोप र जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्ने पशु चिकित्सकहरूको जोड छ।
पछिल्लो समय बङ्गुरमा भिडियो एक्सरे अर्थात् अल्ट्रासोनोग्राफी प्रविधिको प्रयोग सुरु भएको छ। भरतपुर महानगरपालिका-१८ को चित्रोवन एकीकृत कृषि फार्ममा गरिएको यस परीक्षणले गर्भाशयभित्रका पाठापाठीको अवस्था र सङ्ख्याबारे जानकारी लिन सहज बनाएको छ। पशु चिकित्सक डा. रवीन्द्र बस्ताकोटीका अनुसार यो प्रविधिले सुत्केरी समय व्यवस्थापन र जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँछ।
नेपालमा चोन्चे, हुर्रा र धराने कालो बङ्गुरजस्ता स्थानीय जातका साथै ल्यान्डरेस, योर्कसायर र ड्युरोकजस्ता उन्नत जातको पालन पनि बढिरहेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार नेपालमा हाल १४ लाख ८० हजार ८३२ बङ्गुर पालिएका छन् भने वार्षिक ३८ हजार ९७२ मेट्रिक टन मासु उत्पादन हुन्छ। यसका साथै कृत्रिम गर्भाधान प्रविधिको प्रयोगले उन्नत नस्ल विकास र प्रजनन व्यवस्थापनलाई थप सहज बनाएको छ। पशु चिकित्सक डा. मनोजकुमार शाहीका अनुसार यो प्रविधिले एउटै उन्नत भालेको क्षमताबाट धेरै किसानले लाभ लिन सक्ने अवस्था सिर्जना गरेको छ।
